जनकपुरधाम- धनुषामा गएराती एक पुरुषले आफ्नै गर्भवती श्रीमतिको हत्या गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले दिएको जानकारी अनुसार लक्ष्मीनिया गाउँपालिका एक पुरुषले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।

लक्ष्मीनिया गाउँपालिका ४ सपही बस्ने २९ वर्षीय सन्तोष पासवानले आफ्नै श्रीमति २३ वर्षीया प्रियंका पासवानको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतिलाई पहिले देखि नै कुटपिट गर्दै आएको सन्तोषले गएराती हत्या गरेको स्थानीयले जनाएको छ ।

मृतक महिलाको ५ वर्षीय छोरा आर्यन पासवानले वुवाले ममिलाई लातले पेटमा हिर्काएको आफ्नो तोते बोलीमा भनिरहेको छ ।

महोत्तरीको वलवा नगरपालिका ५ पुर्वारी टोल माईती रहेको प्रियंका पासवानको ६ वर्ष पहिले सन्तोष संग विवाह भएको वुवा बिनोद पासवानले बताए । उनले भने, ‘मेरी छोरी ५ महिनाकी गर्भवती थिई, यस्तो अवस्थामा पनि कुटपिट गरेर घाँटी थिचेर हत्या गरेको प्रियंकाको शरीरमा देखिएको चोटपटक र घाँटीमा देखिएको डामले स्पष्ट हुन्छ ।’

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक तिलक सुनारले घटना स्थलको प्रकृति मुचुल्का उठाई लासलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको बताए ।

उनले राती नै आरोपी मृतक प्रियंकाको श्रीमान सन्तोष पासवानलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।

स्मरणीय छ आईतवार मात्र महोत्तरीको लोहारपट्टी नगरपालिकाको भ्रमरपुरामा एक महिलालाई श्रीमान्, देवर र ससुरा मिलेर घरमा हत्या गरि खेतमा गाडेको अवस्थामा लास फेलाको घटना सार्वजनिक भएको थियो ।