पर्सामा चट्याङ लागेर मंगलबार बिहानै तीन जनाको मृत्यु भएको छ।

चट्याङले अर्का एक जना गम्भीर घाइते र तीन जना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका-४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वा सुगौली-१ का २७ वर्षीय रसुल आजगदी र जीराभवानी-३ जितपुरकी ५० वर्षीया असरतोमी देवी थारू छन्।

यादव र आजगदी भैंसी चराइरहेका थिए भने थारू खेलमा काम गरिरहेकी थिइन्।

सखुवाप्रसौनी १ का ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते रहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

उनलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ। मंगलबार बिहान ७ बजे चट्याङ परेको थियो।