काठमाडौं । यस वर्षको मदन भण्डारी पुरस्कार एम्बुलेन्स चालक र नर्सलाई प्रदान गरिएको छ ।

जननेता मदन भण्डारीको ७० औं जन्म जयन्तीका अवसरमा मदन भण्डारी ‘फाउण्डेसन’ द्वारा सोमबार आयोजित मदन भण्डारी पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मदन भण्डारी पुरस्कार भेरी अञ्चल अस्पतालकी नर्स सुनिता सहकारी र कीर्तिपुरका एम्बुलेन्स चालक बलबहादुर गुरुङलाई प्रदान गर्नुभयो । उहाँहरुलाई प्रधानमन्त्री ओलीले सम्मानपत्रसहित एकलाख धनराशीको पुरस्कार प्रदान गर्न गर्नुभएको हो ।

नर्स सहकारीले कोभिडका कारण आफ्ना आफन्त गुमाउँदा पनि र रक्त क्यान्सरका कारण श्रीमान् गुमाउनु पर्दा काजक्रियाका दिनबाहेक अरु बेला उपचारमा दत्तचित्त भएर संलग्न रहेकोमा प्रशंसा गर्दै पुरस्कार दिइएको हो भने एम्बुलेन्स चालक गुरुङले कोभिड १९ को उत्पत्तिस्थल बुहानबाट आएका नेपाली विद्यार्थीलाई ल्याउने कामदेखि अनवरत रुपमा कोरोना विरामीको सेवा गर्दै आउनुभएको छ ।

समाजमा सकारात्मक योगदान प्रदान गर्नुहुने विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्ति वा संस्थालाई प्रदान गरिदै आएको यस पुरस्कार यस अघि हाँस्य कलाकार महजोडी, शहिद पार्कहेटौंडा, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, ’धुर्मुस सुन्तली फाउण्डेशन’, प्रा.डा. सुवोध शर्मालाई प्रदान गरिएको थियो।