१२ असार, काठमाडौं । सैन्य विज्ञानमा एउटा चर्चित भनाइ छ- आक्रामकतामा सक्रिय प्रतिरक्षा अन्तरनिहित हुन्छ । प्रधानमन्त्री केपी ओलीको दृढनिश्चयी, आत्मविश्वासयुक्त र विजेताभावमा देखिन मनपराउने स्वाभाव नियाल्दा लाग्थ्यो कि उनले यो कुरा राम्रोसँग बुझेका छन् । उनका हरेक आक्रामक प्रस्तुतिहरूका अगाडि विपक्षीका क्रिया-प्रतिक्रियाहरु फिक्का अनुभूत हुन्थे ।

समय फेरिएको छ । आफ्ना एकपछि अर्का कदमहरुलाई सर्वोच्च अदालतले उल्ट्याउन थालेपछि उनी केही रक्षात्मक देखिन थालेका छन् । पदमुक्त भएका मन्त्रीहरुलाई झण्डा छोपेर क्वार्टरमै बस्न प्रधानमन्त्री ओलीले दिएको निर्देशनको रक्षात्मकता जनमानसले सजिलै अनुभूत गर्न सक्ने थियो ।
राजनीतिमा आफैंले सिर्जना र स्थापित गरेका भाष्यहरुका विरुद्ध सम्झौता गर्दै जारी गरेको नागरिकता अध्यादेश सर्वोच्चले बदर गरिदिएको छ ।
चुरे उत्खनन, राजदूत नियुक्तिको मापदण्ड र गैरसांसदलाई मन्त्री बनाउने कदमहरू अदालतले उल्ट्याइदिएको मात्र छैन, उनले चालेका धेरैजसो कदमहरू राजनीतिक विवादसँगसँगै संवैधानिक प्रश्नको घेरामा पनि तानिएका छन् ।