काठमाडौं । सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई कम्तिमा कोभिडको पहिलो मात्रा खोप दिने लक्ष्य राखेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कम्तिमा ३३ प्रतिशत जनसंख्यालाई पहिलो मात्रा खोप दिनसके हदसम्म संक्रमण नियन्त्रण गर्न सक्ने देखिएको जानकारी दिनुभयो ।

उहाँले लक्षित यो जनसंख्यालाई सके दुबैमात्रा नसके पहिलो मात्रामात्रै भएपनि खोप दिन सके नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो । यसका लागि हामीलाई १ करोड ५० लाख डोज आवश्यक पर्ने बताउँदै सचिव अर्यालले १ करोड १० लाख डोज खोपको अर्डर गरिएको जानकारी दिनुभयो ।

नेपालमा कोभ्याक्स सुविधाबाट २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलव्ध हुने र बाँकी सरकारनै खरिद गर्नुपर्ने भएकाले खोपलाई कूटनीतिक तथा राजनीतिक तवरले पहिलो प्राथमिकतामा राख्नपर्ने उहाँको भनाइ छ

नेपालले कोभ्याक्स सुविधामार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने अर्थात १ करोड २० लाख डोज खोप प्राप्त गर्ने र यसमध्ये ३ लाख ४८ हजार डोज खोप उपलव्ध भएको उहाँले बताउनुभयो ।

संक्रमणको पहिलो र दोस्रो लहरमा आइपुग्दा त्यति खरावस्थिति नदेखिएपनि अबका लहरबाट जोगिन अहिलेबाटै तयारी गर्नुपर्ने भएकोले सोही अनुसार मन्त्रालयबाट काम भइरहेको दाबी उहाँको छ ।

‘पहिलो लहरमा मृत्युदर कम रहेपनि दोस्रो लहरमा स्वास्थ्य प्रणालीले धान्नै नसक्ने स्थिति देखियो अब हामी तेस्रो लहरबाट जोगिन पूर्वतयारीमा छौ’ ,सचिव अर्यालले भन्नुभयो ।

खोपको चर्चा भएपनि समयमै खोप उपलव्ध नहुँदा अभियान सुरु भएको ५ महिनामा जम्मा २५ लाख ५६ हजार १२९ जना अर्थात् ८ दशमलब २ प्रतिशत जनसंख्याले पहिलो मात्रा र ७ लाख ४५ हजार ६७० अर्थात् २ दशमलब ३ प्रतिशत जनसंख्या मात्रैले दुबै मात्रा खोप पाएका छन् ।