काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक अंग कब्जा गर्न खोजेको आरोप लगाउँदै आवश्यक परे जनपरिचालन गर्ने बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको संसद विघटनले मुलुक संकटमा परेको भन्दै उनले अदालतले असंवैधानिक काम रोक्दै आएको बताए ।

बानेश्वरमा विपक्षीहरुले आयोजना गरेको सम्पादकहरुसंगको साक्षातकार कार्यक्रममा सभापति देउवाले बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको टिप्पणी गरे ।

देउवाले भने, ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं, नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ ।’ उनले नागरिक समाज, मिडिया सबैसँग आन्दोलनमा साथ खोजेका छन् ।

देशमा सिर्जना गरिएको राजनीतिक अस्थीरता तथा अन्योल समाप्त गरी नेपाली जनताको लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्ने संकल्पका साथ हामीहरु राजनीतिक र कानूनी संघर्षका विविध कार्यक्रमका साथ क्रियाशील छौं। यस सन्दर्भमा आवश्यक परेमा हामी जनपरिचालनको दिशातर्फ समेत अगाडि बढ्ने छौं, देउवाले भने ।

राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट मध्यरातमा असंवैधानिकरुपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथिनै खतरा उत्पन्न गरेको छ।

प्रतिनिधि सभाका बहुमत १४९ सदस्यहरुको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वान अनुसार हामीले प्रधानमन्त्रीका लागि दावी सहित पेश गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकर गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ।

तसर्थ हामीले संवैधानिक अधिकार र लोकतन्त्रको लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएका छौं, देउवाले बक्तब्यमा भनेका छन् ।