काठमाडौं, असार ११- छिमेकी भारतद्वारा उत्पादित कोभिसिल्ड खोप लगाएका १२ लाख नेपालीलाई एस्ट्राजेनिका खोपका बारेमा गम्भीर साइडइफेक्ट देखिएको समाचारले चिन्तित बनाएको छ ।

बेलायती उत्पादन एस्ट्राजेनिकाकै सूत्रमा आधारित रहेर भारतले कोभिसिल्ड बनाएको र भारतमा पनि खोप सेवा पाउनेमध्ये अधिकांशले यही खोप लगाएको बताइएको छ ।

‘बेलायतमा गरिएको अध्ययनका आधारमा विश्वका एक सय आठ जर्नलमा प्रकाशित आलेखले एस्ट्राजेनिका खोप प्रयोग गर्नेहरूमा नसासम्बन्धी समस्या देखिएको जनाएका छन्’, कोरोनाका विषयमा प्रारम्भदेखि नै सक्रिय अभिव्यक्ति दिँदै आएका भाइरस विज्ञ डा रमेश आचार्यले भन्नुभयो– ‘तर कोभिसिल्ड र एस्ट्राजेनिका उस्तै हो, एउटै भने होइन ।’कोरोनाविरुद्धको खोप एस्ट्राजेनिका लगाएकाहरूमा ‘नर्व डिस्अडर’ को समस्या देखा परेपछि अहिले उक्त खोपको बारेमा अन्तर्राष्ट्रिय बहस शुरू भएको छ ।

एस्ट्राजेनिकाको खोप लगाएका सात भारतीय र चार बेलायती नागरिकमा गुलियन बेरी सिड्रोम ९जीबीएस० को समस्या देखा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एस्ट्राजेनिकाको पहिलो खोप लगाएको दुई हप्तापछि ती व्यक्तिमा ‘गुलियन बेरी सिड्रोम’को समस्या देखा परेको जर्नलहरूमा उल्लेख छ । गुलियन बेरी सिड्रोम देखा परेका नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुँदै गएपछि शरीरका सबै भागमा त्यसको असर परेको बताइएको छ ।

बेलायतकै नटिघम विश्वविद्यालयद्वारा सञ्चालित अस्पतालमा गरिएको अनुसन्धानमा एस्ट्राजेनिकाको खोप लगाएकाहरूमा उक्त समस्या देखिएको जनाइएको छ ।

गुलियन बेरी सिड्रोम देखिएका मानिसका शरीरका भागहरू पक्षाघात भएको र उनीहरूको अवस्था गम्भीर हुँदै गएको अनुसन्धानकर्ताले बताएका छन् । उनीहरूले उक्त खोपको प्रभावकारितामाथि प्रश्न उठाए पनि त्यसको प्रयोग रोक्ने विषयमा भने आवाज उठाएका छैनन् । शोधकर्ताले ‘मासंपेशीलाई कमजोर बनाउँदै लैजाने र पछि मानिसको मृत्युसमेत हुने भएकाले खोप लगाउँदा सावधानी अपनाउन’ आग्रह चाहिँ गरेका छन् ।