काठमाडौ । नगरपालिकामा बसोबास गरिरहेका नगरबासी हुन्छन् भने गाउँपालिकामा बस्नेहरु गाउँबासी ।

स्थानीय निकाय स्तरोन्नति भएर गाउँ पालिकाबाट नगरपालिका हुन्छन् । तर यस्तो नगरपालिका पनि छ, जहाँका बासिन्दा हामी नगरपालिका होइन गाउँपालिकाबासी हुन पाउँ भन्दै माग गरिरहेका छन् ।

यो घटना उदयपुरको हो । त्यहाँ कटारी नगरपालिकाको पहाडी क्षेत्रका ५ वटा वडाका जनप्रतिनिधिले छुट्टै गाउँपालिका गठन गर्न माग गरेका छन् । वडा नं ९, १०, ११, १२ र १४ वडाका जनप्रतिनिधि तथा स्थानीयवासीले कटारी नगरपालिकाबाट छुटिएर छुट्टै गाउँपालिका बनाउने माग गरेका हुन् ।

उनीहरुले यस्तो माग सहित मङ्गलबार नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतलाई भेटर ज्ञापन पत्र बुझाएका छन् । सो अवसरमा नगर प्रमुख श्रेष्ठले भौगोलिक हिसाबले पनि यी वडाहरु दुर्गम भएकाले त्यहाँको समस्या र जनप्रतिनिधिहरुले उठाएका मागका सम्बन्धमा आफू गम्भीर भएको बताउँदै छुट्टै गाउँपालिका गठन गर्न सहज नहुने धारणा व्यक्त गरेका छन् ।

कटारी नगर क्षेत्रमै पर्ने भएपनि उक्त क्षेत्र दुर्गम मानिन्छ । त्यहाँ भौतिक पूर्वाधारमा स्थानीयको पहुँच छैन भने नागरिकहरुलाई सरकारी सेवा लिन समेत सास्ती भएको छ । स्थानीय र जनप्रतिनिधिहरुले छुट्टै गाउँपालिका भए थप सहज हुने आशा ब्यक्त गरेका छन् ।