काठमाडौं । अवैध मोबाइल नचल्ने प्रणाली आगामी जेठदेखि सञ्‍चालनमा ल्याइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जेठदेखि यो प्रणाली सञ्‍चालनमा ल्याउने जनाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्‍चालनको तयारी भएको बताएका हुन् ।

यो प्रणाली सञ्‍चालनमा आएपछि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी कोड (आईएमईआई) दर्ता नभएका मोबाइल नेपालका कुनै पनि नेटवर्कमा चल्दैनन् । उनले यो प्रणाली सञ्‍चालनमा आएपछि नेपालमा अवैध रुपमा भित्रिने मोबाइल चलाउन नपाइने बताए । यो उपकरण जडान भएपछि अवैध रुपमा नेपालमा भित्रिने मोबाइल बन्द भई राजस्व वृद्धि हुने साथै मोबाइल सेवा सुरक्षित तथा भरपर्दो हुने उनले बताए।

यसैगरी उनले आईकाओसम्बन्धी सन्धि तथा दूरसञ्‍चार ऐनको व्यवस्थाअनुसार १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी एयरलाइन्सहरुले पनि दूरसञ्‍चार सेवा प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी पनि भइरहेको बताए ।