काठमाडौ । काठमाडौं उपत्यकामा फेरी निधेषाज्ञा थप गरिएको छ । आगामी १३ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि बढाइएको छ । मंगलवार ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जेठ २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँनु अघि नै सिडिओहरुले थप्ने निर्णय गरेका हुन् । मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला सहभागी बैठकले सो निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

खाद्यान्न र निर्माण सामाग्री ढुवानीलाई स्थगित गर्ने, सार्वजनिक तथा निजी निर्माण पनि रोक्ने निर्णय भएको छ । बैंक तथा वित्तिय संस्थाको हकमा वाणिज्य बैंक र विकास बैंकका शाखालाई सीमित रुपमा खुल्न दिने निर्णय भएको छ । उपत्यकाका तीन जिल्ला प्रशासनले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म रहने निर्णय गरेका छन् ।