पछिल्लो २४ घन्टामा थप ८,९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या पाँच लाख नाघेको छ। गत २४ घण्टामा कोभिडका कारण १२९ जनाको ज्यान गएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोनाभाइरस महामारी सुरु भएयता सङ्क्रमित हुनेहरूको कुल सङ्ख्या ५,०५,६४३ पुगेको छ। दक्षिण एशियामा भारत पाकिस्तान र बाङ्लादेशपछि कुल सङ्क्रमितको सङ्ख्यामा नेपाल चौथो स्थानमा पुगेको छ।

भारतमा २ करोड ६२ लाख, पाकिस्तानमा ८ लाख ९७ हजार, बाङ्लादेशमा ७ लाख ८६ हजार र श्रीलङ्कामा १ लाख ५८ हजार चीनमा १ लाख २ हजार भन्दा बढी कुल सङ्क्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको कोभिड ड्यासबोर्डले देखाएको छ।

त्यस्तै मन्त्रालयले शनिवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कका अनुसार थप १२९जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोनाभाइरसका कारण नेपालमा ६,१५३जनाले ज्यान गुमाएका छन्। विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २०,१०५वटा परीक्षण गरिएको थियो। सो अवधिमा काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

यस्तै काठमाडौं महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० मा पुष्टि हुने गरेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । महानगरपालिकाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेका छन् । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुइँकेलले भने ।

एम्बुलेन्सको आवश्यकता पर्ने बिरामीका लागि अस्पतालसम्म लैजाने र ल्याउने व्यवस्था पनि महानगरपालिकाले नै गर्दै आएको छ । यसका लागि पनि बिरामीले पैसा तिर्नु पर्दैन । सो सेवा महानगरका ३२ वडामध्ये सात स्थानबाट नागरिकले प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० महानगरपालिकाको हटलाइनमा सम्पर्क गर्नुपर्ने छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उहाँले समयमा सुत्न पाउनुभएको छ, न त खान नै । अहिले २४ घण्टा नै बिरामीको सेवामा तल्लीन रहनुभएका डा राजभण्डारीलाई सङ्क्रमणसम्बन्धी दैनिक ४०० भन्दा बढी फोन र २५ इमेल आउने गर्दछन् ।

“पहिले म ९ः०० बजे नै सुत्ने मान्छे, अहिले राति १२ः०० बजेसम्म बिरामीको फोन उठाउनमै बित्ने गर्दछ, अनिमात्र सुत्ने गर्दछु”, उहाँले भन्नुभयो, “धेरै फोन होम क्यारेन्टिन र आइसोलेशनमा बसेका सङ्क्रमितले कुन औषधि खाने, के गर्ने भनेर सोध्ने गर्दछन् ।”

उहाँलाई नेपाल मात्र नभएर विदेशमा रहेका नेपाली सङ्क्रमितले पनि उपचारका लागि सामाजिक सञ्जालबाट सोध्ने गरेका छन् । त्यसको पनि उपचार पद्धति उहाँले सिकाउनुहुन्छ । बिहान ९ः०० बजे नै अस्पताल पुगेपछि पुनः त्यहाँका बिरामीको उपचारमा उहाँ केन्द्रित हुनुहुन्छ । उहाँले बिरामी अवस्थादेखि चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीबारे जानकारी लिनुहन्छ ।

उहाँ बिरामीको उपचारको व्यवस्थापनका लागि आफ्नो कार्यकक्षमा नबसेको धेरै भइसक्यो । “घरबाट आएपछि बिरामीको उपचारदेखि चिकित्सक सबैको समन्वय गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “त्यसैले म आफ्नो कार्यकक्षमा बस्न भ्याउँदिन, म कार्यकक्षभन्दा पनि सङ्क्रमितको उपचार गर्नमा केन्द्रित हुन्छु ।” उहाँले कोरोना भाइरसको उपचारजस्तै २०५६ सालमा जनयुद्धका बेला भएका घाइते र भूकम्पमा घाइतेको उपचार पनि गर्नुभएको थियो ।

“मैले त्यतिबेला सल्यानमा जाँदा बम पड्किएर घाइते भएकाको पनि उपचार गरे, अनि भूकम्पको महामारी पनि त्यस्तै घाइतेको उपचार गरेँ”, उहाँले भन्नुभयो, “मलाई विपद्को बेला सर्वसाधारणलाई उपचार गर्न अवसरका रुपमा पाएको छु, अहिले पनि महामारीका यस्तै सर्वसधारणको उपचार गरेका छु, म यस्तो बेला सर्वसाधारणको उपचार गर्न पाउँदा आनन्दित हुन्छु ।”

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको अग्रपङ्क्तिमा सङ्क्रमितको उपचारमा संलग्न डा प्रवीन नेपालको पनि दिनभरि उपचारमा व्यस्त हुनुहुन्छ । उहाँ बिहान ८ः०० बजे अस्पताल आएर आवश्यकताअनुसार राति ११ः०० बजेसम्म बिरामीको उपचारमा खटिनुहुन्छ । उहाँको दैनिकी कसरी बिरामीको उपचार राम्रो गरेर घर फर्काउने रहेको हुन्छ । उपचारका सिलसिलामा उहाँ कहिले त घरै जान पाउनहुन्न । “घर जाने त थाहै हँुदैन, बिरामीको हेर्दाहेर्दै ढिला भए कहिले यतै अस्पतालमा बस्छु”, उहाँले भन्नुभयो, “सधैँ घर जान पाइँदैन ।”

उहाँलाई सङ्क्रमित बिरामी राख्नका लागि दैनिक ४०० भन्दा बढी फोन आउने गर्दछन् । उहाँले मोबाइलमा बज्ने घण्टी कति त फर्काउनु नै भ्याउनुहुन्न । फोन गर्ने व्यक्तिले उहाँलाई पहिलो प्रश्न नै श्यया, आइसियु र भेन्टिलेटर छ भनेर सोध्ने गर्दछन् ।

“दैनिक आउने फोन श्ययाका लागि हुन्छ, भरसक मोबाइलमा बज्ने फोनको रेम्पोन्स गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “तर हामी अस्पतालमा श्यया भएपछि तुरुन्तै बिरामीलाई बोलाउँछौँ, नभएर नाम र ठेगाना टिपेर जतिबेला श्यया खाली हुन्छ, त्यतिबेला खबर गरेर बोलाउँछौँ ।”

सङ्क्रमण दोस्रो लहरको फैलिएपछि गम्भीर प्रकृतिका बिरामी बढेका र सङ्क्रमणका कारणले युवाको निधन भएपछि आफूलाई पनि नराम्रो हुने गरेको उहाँको भनाइ छ । अहिले अस्पतालमा आइसियु र भेन्टिलेटर कम भएकाले बिरामीले सामान्य श्ययामा राखेर उपचार गर्नु परेको उहाँ बताउनुहुन्छ । “आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई आइसियु र भेन्टिलेटर दिन सकिने भन्ने पीडा हुन्छ”, उहाँले भन्नुभयो, “बिरामीलाई अहिले पैसा भएर पनि आइसियु र भेन्टिलेटर पाइएन जस्ता समस्या रहेका छन् ।”

उहाँका अनुसार पहिले एकजना नर्सले १० बिरामी र अहिले गम्भीर प्रकारका बिरामी हुनाले एकजनाले तीनजना मात्र बिरामी हेर्न सक्ने गर्दछन् । “अहिले भएको अक्सिजन एक छिनमा सकिन्छ, फेरि ल्याउनु पर्दछ, कति बाँकी छ कति जनालाई पुग्छ भन्ने र कति खेर अक्सिजन आइपुग्छ भन्ने चिन्ता हुन्छ”, उहाँले भन्नुभयो, “बिहानको बिरामीलाई अक्सिजन चाहिए पनि कहिलेकाही साँझ मात्र पाइने गरेको छ ।”

उहाँले पहिले र अहिले बिरामीको उपचार गर्नमा कुनै फरक नभएको बताउनुभयो । “पहिले एप्रोन लगाएर बिरामीको उपचार गरिन्थ्यो भने अहिले पिपिई लगाएर गरिन्छ, मलाई खासै फरक भएको छैन”, उहाँले भन्नुभयो ।

यसैगरी वीर अस्पतालमा सङ्क्रमितको अग्रपङ्क्तिमा काम गरिरहनुभएका डा अशेष ढुङ्गाना पनि बिहान ९ः०० बजे अस्पतालमा आएदेखि साँझ ६ः०० बजेसम्म निरन्तर बिरामीलाई प्रत्यक्ष भेटेर स्वास्थ्य अवस्थाबारे आइसोलेशन, आइसियु, भेन्टिलेटरमा गएर जानकारी लिनुहुन्छ । उहाँले बिरामीलाई अक्सिजन, औषधि, उपचारदेखि कोभिड–१९ मा अग्रपङ्क्तिमा खटिने चिकित्सकका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जुटाउनका लागि खटिनुहुन्छ ।

अस्पतालको कोभिड–१९ व्यवस्थापनका संयोजकसमेत रहनुभएका डा ढुङ्गानाले अस्पतालमा कति बिरामीलाई चाहिएको बेला आइसियु र भेन्टिलेटर दिन नसक्दा आफूलाई पीडा लाग्ने गरेको बताउनुभयो । उहाँ अहिले धेरै जसो बिरामी गम्भीर प्रकृतिका रहेकाले सबैलाई अक्सिजन चाहिने गरेको बताउनुहुन्छ ।

“साधारण श्ययामा पनि सिकिस्तै भएका बिरामी छन्, ती बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिएको हुन्छ”, उहाँले भन्नुभयो, “तर हामीसँग भएका सीमित आइसियु र भेन्टिलेटरमा ती बिरामीलाई राख्न सकिरहेका छैनौँ, सबभन्दा ठूलो चुनौती श्यया बिरामीका लागि उपलब्ध गराउन सकिँदैन ।”

वीरमा नौ र राष्ट्रिय ट्रमा सेन्टरमा १० आइसियु रहेका छन् । अस्पतालमा विगत दुई हप्तामा सङ्क्रमितका १० बाट १६० बिरामी पुगेका छन् । उहाँका अनुसार सीमित श्यया रहेकाले कतिपय बिरामी इमरजेन्सीमा आए पनि श्यया नपाएर अक्सिजन लगाएर त्यतिकै पर्खिरहेका हुन्छन् । बिहानदेखि रातिसम्म उहाँको मोबाइलको घण्टी बजिरहन्छ ।

धेरैजसो श्यया र अस्पतालमा बिरामी भर्ना गर्नका लागि उहाँलाई बिरामीका आफन्तले फोन गर्नुहुन्छ । “धेरैजसो अस्पतालमा श्यया र आइसियुका लागि फोन गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “अस्पतालमा खाली भएको अवस्थामा त्यस्ता फोन गर्ने बिरामीलाई सकभर श्यया र आइसियु उपलब्ध गराउँछौँ, कतिको त फोन नै उठाउन भ्याइँदैन ।”

डा ढुङ्गानाले पहिले जस्तो अहिले भने सङ्क्रमित बिरामीको उपचार गर्नका लागि स्वास्थ्यकर्मीले डर नमानेको बताउनुभयो । सबै स्वास्थ्यकर्मीले खोप लगाएको र सङ्क्रमितको उपचार गर्दा गर्दै सिकेर कुनै सङ्कोच विना नै जस्तासुकै बिरामीको उपचारमा अहिले स्वास्थ्यकर्मी खटिने गरेको उहाँ बताउनुहुन्छ । “पहिले रोगको उपचार गर्ने पद्धतिमा नै शङ्का थियो”, उहाँले भन्नुहुन्छ, “तर अहिले सङ्क्रमितको उपचार गर्न हामीलाई सामान्य नै लागिसकेको छ ।”

नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत नर्सिङ अधिकृत ईश्वरी केसी दोस्रो लहर आएसँगै सङ्क्रमितको उपचारमा गर्दागर्दै आफँै पनि सङ्क्रमित हुनुभयो । सङ्क्रमणमुक्त भएपछि उहाँ निरन्तर सङ्क्रमितको उपचारमा खटिरहनुभएको छ । “अहिले पनि अस्पताल प्रशासनले बोलाएपछि जतिबेला पनि बिरामीको उपचारका लागि जानुपर्दछ”, उहाँले भन्नुभयो, “हाम्रो ड्युटीको समय नै छैन, बिरामीलाई केही समस्या प¥यो भने कुदिहाल्नुपर्दछ ।”

नर्सिङ अधिकृत केसी वैशाखको पहिलो हप्ता अस्पतालमा सङ्क्रमित बढेको अवस्थामा अक्सिजन र श्यया अभावमा उपचारमा समस्या भएको पनि अहिले अक्जिसनको उपलब्धतासँगै बिरामीको उपचार गर्न सजिलो भएको बताउनुहुन्छ ।

उहाँ शुरुशुरुमा सङ्क्रमितको उपचार गर्न डर लागे पनि पछि आफूलाई पनि सङ्क्रमण भएपछि उपचारमा डर नलागेको बताउनुहुन्छ । नेपालमा अहिले चार लाख ९७ हजार ५२ र छ हजार २४ को सङ्क्रमणबाट निधन भइसकेको छ ।