काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि शुक्रवार साँझसम्म दाबी गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेपछि नेपालको राजनीतिमा नयाँ मोड आएको छ।

राष्ट्रपतिले तोकेको समयावधिमा केपी शर्मा ओली र शेरबहादुर देउवाले दाबी पेस गरेका छन्।राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न दिएको समयावधि सकिएको छ।

उता देउवाले भने १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् जसमा एमालेले आफ्नो दाबीमा पनि गणना गरेको उसका २६ सांसद र जनता समाजवादी पार्टीका १२ सांसदको हस्ताक्षर रहेको जसपा नेता मोहम्मद ईश्तियाक राईले बीबीसीलाई बताएका छन्।

राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन्। त्यस्तै काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९ र जसपाका ३२ सांसद छन्।

संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको गठन गर्नका लागि नेकपा एमालेका तर्फबाट केपी शर्मा ओलीले आफ्नो दाबी प्रस्तुत गरेका छन्। विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दाबेदारी दिएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आफूहरूसँग १५३ जना सांसदको समर्थन रहेको दाबी ओलीले पेस गरेका छन्।

यसै क्रममा एमाले पक्षका सात सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । सांसदहरु सरेन्द्र पाण्डे, योगश भट्टराई,जयकुमार राई लायगतले आफूहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताए ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पक्षीय सांसदको हस्ताक्षर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रयोग गरे । तर, जब हस्ताक्षर राष्ट्रपति कार्यालय शितलनिवास पुग्यो तब धमाधम उनी पक्षीय केही सांसदले हस्ताक्षर दुरुपयोग भएको प्रतिक्रिया दिए । खास कुरा नेपाल नै प्रधानमन्त्रीको दाबेदार हुन्छन् भन्ने रहेछ । नेपाललाई प्रधानमन्त्रीका लागि बढ्ने भए साथ दिन्छौं भन्ने ४० सांसद पुगिसकेका थिए । तर, देउवा बढेपछि उनकै पक्षका सांसदहरु असन्तुष्ट भएका छन् ।

अहिले शितलनिवासमा पत्र पुगेपछि धमाधम विरोधको स्वर आउन थालेको छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भनी बोल्ने सांसदहरुमा सुरेन्द्र पाण्डे पनि छन् । पाण्डे नेकपा एमालेको नवौं महाधिवेशनमा माधव नेपाल अध्यक्षको उम्मेदवार बन्दा उक्त गुटबाट महासचिवका उम्मेदवार थिए । उनी वर्तमान महासचिव इश्वर पोखरेलसँग झीनो मतान्तरले पराजित भएका थिए ।
हस्ताक्षर अस्वीकार गर्नेमा योगेश भट्टराई पनि हुन् । उनी ओली सरकारमा विगतमा पर्यटनमन्त्री थिए । भट्टराई माधव नेपाल समूहका हस्ती मानिन्छन् ।

गोकर्ण बिष्टले पनि हस्ताक्षर अस्वीकार गरेका छन् । उनी नेपालका विश्वासपात्र मानिन्थे । तर, पछिल्लो समय एमाले विभाजनको विपक्षमा उभिएका छन् । घनश्याम भुसालको चाहना पनि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगर्ने नै थियो । उनको चाहना माधव नेपाललाई नै बढाउने थियो । तर, देउवा बढेपछि उनले पनि हस्ताक्षरमा विरोध गर्ने संकेत गरिसकेका छन् ।

सुनसरीको धरान क्षेत्रबाट चुनाव जितेका जयकुमार राई पनि छन् । उनले सुनसरी क्षेत्र नं १ बाट चुनाव जितेका हुन् । प्रत्यक्षतर्फ निर्वाचित ४ एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका छन् । यसले देउवाले बुझाएको आजको हस्ताक्षरमा तलमाथि हुनसक्ने देखिएको छ ।

यी हुन् हस्ताक्षर नगरेको दाबी गर्ने एमाले सांसदहरु १.सुरेन्द्र पाण्डे २‍ गोकर्ण विष्ट ३‍. घनश्याम भुसाल ४. नारायण खतिवडा ५. गणेश पहाडी ६. योगेश भट्टराई ७. जयकुमार राई