नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन्।

शुक्रबार दिउँसो विपक्षी गठबन्धनहरू पुग्नुभन्दा पहिला नै शितल निवासमा पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन्।

उनले राष्ट्रपति कार्यालय शीतल निवास पुगी एमालेका १ सय २१, जनता समाजवादी पार्टीका ३२ सहित १ सय ५३ सांसदको आफूलाई समर्थन रहेको भनी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेको एमालेका एक नेताले बताए।

तर ओलीले सांसदहरुको व्यक्तिगत हस्ताक्षर नभई दुवै पार्टीका संसदीय दलका नेताहरुको सहमतिका आधारमा दाबी गरेको राष्ट्रपति कार्यालय स्रोतले बतायो। विपक्षी दलका नेताहरु १४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावीसहित शीतल निवास पुगेकै बेला ओली पनि पुगेका हुन् । अब राष्ट्रपतिले कसलाई मान्यता दिनेछिन् भन्नेमा सर्वत्र चासो छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ-आफ्नो दाबी प्रश्तुत गरेका छन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओलीले एमाले संसदीय दलको नेताको हैसियतमा आफूले र जसपाका ३२ सांसदको तर्फबाट संसदीय दलका नेता राजेन्द्र महतोले गरेको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाएका हुन्।

नेता माधवकुमार नेपालले गरेको अनैतिक कामको हिसाव किताव पार्टीले गर्ने यस अघि नै पत्रकार सम्मेलनमा ओलीले प्रस्ट परेका छन् । “मार्ग प्रशस्त गर्नु भनेकै छाडेको हो” प्रधानमन्त्री ओलीले थपे, “मार्ग प्रशस्त गरिसकेपछि राजीनामा गरेर जानुपर्छ भन्ने संवैधानिक व्यवस्था छैन ।” यसलाई अनेक निहुँ बनाएर विरोध गर्नुको अर्थ नरहेको उनले बताए ।

“यो पनि मन्जुर छैन, त्यो पनि मन्जुर छैन भने विकल्प के छ दिनुस् भनिरहेको छुँ” प्रधानमन्त्री ओलीले भने, “बल अरुले समातिसकेपछि ‘रन’ बनाउँछु भनेर हुन्छ र?” देशलाई चुनावमा लैजाने काम प्रतिपक्षी दलहरुले गरिरहेको उनले बताए ।

अवको डेढ वर्षपछि त चुनावमा जानु छ नै उनले भने, “प्रचण्ड र माधवजीले जनताको अभिमत स्वीकारेको भए अहिलेको अवस्था आउने थिएन, उनले जनमतको उल्लंघन गरे ।”

पार्टीको आन्तरिक अनुशासन हिनता र अराजकतालाई पार्टीले समाधान गर्ने अध्यक्ष ओलीले जानकारी दिए । जनताले सर्वाधिक विश्वास र भरोसा गरेको पार्टी एमाले भएकाले संविधानको रक्षा र कार्यान्वयन गर्ने गराउने जिम्मेवारी आफूहरुमाथि रहेको उनले बताए । लोकतन्त्रलाई कुनै हिसावले तलमाथि हुन नदिइने उनले बताए ।