काठमाडौं, ३ जेठ । जेठ २० गते भित्र परीक्षा सकाउन काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ । महानगरले आज एक सुचना प्रकाशित गर्दैे विद्यालयले जेठ २० भित्रमा परिक्षा सकाएर जेठ मसान्तसम्म परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिएको हो ।

महानगरद्वारा प्रकाशित गरेको सुचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम बिद्यालय अनुकुल उपयुक्त मुल्यांकन प्रक्रिया अपनाई जेठ २० गतेसम्म परिक्षा सम्पन्न गरी जेठको मसान्तसम्म नतिजा प्रकाशन र आषाढको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र संचालन गर्ने व्यवस्था मिलाउन सम्बिन्धत सबैमा जानकारी गराइन्छ ।’ विभागले अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर विद्यालय अनूकुल हुने गरी परीक्षा लिन भनेको छ ।

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने

दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितबारे आङ्कलन गरिरहेको छ ।

आइतबारसम्मको विवरणमा सङ्क्रमणबाट मृतकको सङ्ख्या चार हजार ८५६ पुगेको छ भने मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० छ । महामारी नियन्त्रण र रोकथामका लागि मुलुुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा जारी हुनु अगावैदेखि शिक्षालयहरुमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिकसत्र असारदेखि हुने गरी शिक्षा नियमावालीमा भएको संशोधन नेपाल राजपत्रमा प्रकाशन भइसकेको र सोबमोजिम सम्बन्धित पक्षलाई सूचना पठाइएको बताउँदै नयाँ परिस्थितिबारे सरकारले निर्णय गरिनसकेको राससलाई जनाउनुभयो । अर्को निर्णय नभएसम्म विद्यालयहरुले असार १ गतेदेखि नै नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने हुन्छ भने यसको व्यावहारिकता हेरेर पाठ्यवस्तुमा थप समायोजना गरी नयाँ भर्नाको नयाँ मिति तय गर्नुपर्ने देखिएको छ ।