नेकपा एमालेभित्रको विवाद मिलाउनका लागि पार्टी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सिंहदरबारमा बसेको बैठक सकारत्मक भएको छ। (एमाले) विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताबीच शुक्रबार अढाई घण्टा छलफल भएको हो ।

सिंहदरबारमा आज भएको दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए । रावलका अनुसार शुक्रबारको साँझको वार्ता सकारात्मक भएको छ । उनका अनुसार वार्ता पुनः छलफल गर्नेगरी सकारात्मक ढंगले अगाडि बढेको हो । गम्भीरतापूर्वक भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ गते भन्दा अगाडिको आधार मानेर अगाडि बढाउने गरी कुराकानी भएको उनको भनाइ छ ।

रावलका अनुसार यो विषयमा छलफलका लागि कार्यदल सदस्य छनोट गर्ने जिम्मेवारी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाललाई दिइएको छ । ‘हामीले हाम्रो पार्टीको एकतालाई कायम राख्नका लागि र पार्टीलाई अगाडि बढाउनका लागि गम्भीरतापूर्वक छलफल गर्यौँ’, रावलले वार्तापछि पत्रकारसँग भने, ‘२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको छ । फेरि तुरुन्तै बसेर वार्ता हुन्छ’ रावलले भने ।

वार्ता सुरु हुनुभन्दा अघि पनि अध्यक्ष ओली निकै हर्षित मुद्रामा बैठक हलमा छिरेका थिए र सकिएपछि बाहिरिँदा प्रधानमन्त्रीका कार्यालयअगाडि पत्रकारहरुलाई हात हल्लाउँदै गाडी चढेर फर्केका थिए । माधव पक्षका एजेण्डामा ओली पनि सकारात्मक रहेको बुझिएको छ । बैठक अघि अध्यक्ष ओलीले आफूपक्षीय नेतासँग सिंहदरबारमा छुट्टै छलफल गरेका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरषद्‍को कार्यालयमा भएको वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडैल, रामबहादुर थापा र लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल सहभागी थिए । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल वार्तामा बसेका थिए ।