नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । राष्ट्रपतिले दिएको समयभित्र बहुमत प्रस्तुत गर्ने आधार जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको निष्कर्ष माओवादीले निकालेको हो ।

आज साँझ केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले दलहरुसँगका वार्ताको बारेमा जानकारी गराएका नेता देवेन्द्र पौडेलले बताए । आजै तीन दलको बैठक फेरि बस्ने जानकारी समेत उनले गराएका थिए ।

माओवादी बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अब ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएकाले तनाब बढेको बताएका थिए ।माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्ति बस्नेतले अब विपक्षी गठबन्धनले सरकार बनाउनका लागि दावी नगर्ने बताए।

उनले भने, ‘बहुमत नपुगेपछि दावी गर्ने कुरा त आएन।’२७५ सदस्यीय प्रतिनिधिसभा हाल २७१ सदस्यीय कायम छ। बहुमतका लागि १३६ सिट आवश्यक पर्छ। तर, काँग्रेसको ६१, माओवादी केन्द्रको ४९ र जसपाको उपेन्द्र समूहको १६ सिटमात्र यो गठबन्धनमा देखिँदा विपक्षीलाई बहुमतका लागि १० सिट अपुग भएको हो।