गंगा नदीमा रहस्यमय तरिकाले गंगाको किनारमा ठूलो संख्यामा शव देखिए पछि त्यहाँका सुरक्षा अधिकारी पनि छक्क परेका छन् । विहारको वक्सरमा मात्र करिब ८० शव देखिएको सुरक्षा अधिकारीहरुले बताएका छन् । ति शव आफ्नो जिल्लाको नभएको उनीहरुको भनाई छ ।

भारतको विहार र युपीको चौसा प्रखंडका प्रमुख जिल्ला अधिकारीको रोहवरमा त्यहाँ ८० शवको ब्यवस्थापन गरिएको छ । केही अझै ब्यवस्थापन गर्न बाँकी रहेको ब्यवस्थापन गर्ने कार्यमा संलग्नहरुले बताएका छन् । विहारका अधिकारीहरुले ति शव युपीका नागरिकको हुनसक्ने अनुमान गरेका छन् । तर त्यसको पुष्टि भएको छैन । उनीहरुको पोष्टमार्टम पछि ब्यवस्थापन गर्ने भनिएको भएपनि अहिले महामारीको समय भएकाले त्यो सम्भव नभएको बताइएको छ ।

सुरक्षा अधिकारीले पोष्टमार्टम गर्ने भनेको भएपनि पोष्टमार्टम विना नै शव ब्यवस्थापन गरेको भारतीय संचार माध्यम आजतकले लेखेको छ । यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा पनि शव फेला परेका थिए । त्यहाँ करिब दुई दर्जन शव फेला परेका हुन् । पछिल्लो पटक महादेव घाटमा भेटिएका करिब ८० शव जिल्ला प्रशासन कार्यालयले स्काभेटरको प्रयोग गरेर ठूलो खा डल खनेर ब्यवस्थापन गरेको छ । तिनको डिएनएको नमूना भने सुरक्षित राखिएको प्रशासनले जनाएको छ ।

ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने खुलेको छैन । अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरु बताउँछन् । कतिपयले भने कोरोनावाट मृत्यु भएकाहरुको शव जलाउन सम्भव नभएकाले नदिमा वगाइएको हुनसक्ने अनुमान गरिएको छ ।

मोदी सरकारका जल शक्ति मन्त्री गजेन्द्र सिंह शेखावतले गंगा नदीमा शव फ्याक्नुलाई दुर्भाग्यपूर्ण भनेका छन् । गंगा नदीको निर्मलता र अविरलताका लागि मोदी सरकार प्रतिबद्ध रहेको बताउँदै उनले राज्य सरकारलाई यस घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न पनि भनेका छन् ।