कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन्् ।

अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् ।

शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता होम आइसोलेशनमा मृत्यु भएको यो पहिलो घटना हो ।

पूर्वमन्त्री भण्डारी डिस्चार्ज

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भर्ना हुनुभएका नेता भण्डारी आइतबार राती डिस्चार्ज हुनुभएको हो ।

गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कनुभएका भण्डारीको यही वैशाख १८ गते स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमणसँगै होम आइसोलेसनमा रहनुभएका नेता भण्डारीलाई वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको थियो । नेता भण्डारीसहित उहाँका श्रीमती र छोरालाई समेत कोरोना सङ्क्रमण देखिएको थियो ।

नेता भण्डारीले डिस्चार्ज भएसँगै आज एक वक्तव्य जारी गरी आफुलाई कोरोना सङ्क्रणबाट मुक्त गराउन अनवरत खटिनुभएका चिकित्सक, नर्स, अस्पताल प्रशासनलाई धन्यवाद दिनुभएको छ । उहाँले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने परिवारजन, इष्टमित्र, पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पार्टी तथा भ्रातृ संस्थाका नेता कार्यकर्ता र अन्य पार्टीका नेता र जनप्रतिनिधीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।