कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयानुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवस, साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, भदौ १४ गते श्रीकृष्णजन्माष्टमी र असोज शुक्ल पूर्णिमा कात्तिक ३ गते प्रदेशभर बिदा स्वीकृत गरिएको छ ।

त्यस्तै असोज कृष्ण त्रयोदशीका अवसरमा चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला तथा चैत १२ गते जुम्लामा मात्र धान दिवसको बिदा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री केसीले जानकारी दिनुभयो ।

थप समाचार – मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् ।कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आज रातिदेखि आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

यात्रुको सुविधालाई दृष्टिगत गर्दै आजका लागि तोकिएका उडान दिनभर यथावत् रुपमा सञ्चालन हुने कम्पनीले जनाएका छन् ।यती एयरलाइन्सले आफ्नो कोटामा परेका १० उडान यथावत् सञ्चालनमा रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । बुद्ध एयरले पनि आफ्ना निर्धारित उडान सञ्चालन भइरहेको जनाएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले आज २५ उडानमार्फत दुई हजार ५०० भन्दा बढी यात्रुले सेवा लिने बताउनुभयो । यात्रु सङ्ख्याका आधारमा निर्धारित उडान मर्ज हुने सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो ।सरकारले आज रातिबाट आन्तरिक तथा यही वैशाख २२ गते मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो ।