काठमाडौं । साउथका सुपरस्टार अल्लु अर्जुनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सुपरस्टार अल्लु अर्जुन आफैले सोसल मिडिया ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।अहिले उनी होम आइसोलेसनमा रहेका छन् । उनलाई केही दिन अगाडिसम्म आफ्नो सम्पर्कमा रहेका सम्पूर्णलाई कोरोना टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् ।उनले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ भएको छ । मैले आफूलाई आइसोलेट गरेको छु ।

म सँग सम्पर्कमा रहनुभएका सबैले कोरोना टेष्ट गर्नुहुन अनुरोध गर्दछु ।’त्यस्तै, उनले आफू ठीक रहेको बताउँदै आफ्नो विसर्स तथा फ्यानहरुलाई चिन्ता नगर्न आग्रह पनि गरेका छन् । उनले सबैलाई घरमै बस्न र सुरक्षित रहन आग्रह गर्दै अवसर पाएमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अपील पनि गरेका छन् ।

त्यस्तै सलमान खानको चर्चित रियलिटी–शो ‘बिग बोस–१४’ की विजेता रुविना दिलैकलाई पनि कोरोना संक्रमण भएको छ । रुविना दिलैक आफैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

आफूलाई कोरोना संक्रमण भएसँगै रुविनाले केही दिन अगाडिसम्म आफ्नो सम्पर्कमा रहेका सम्पूर्णलाई कोरोना टेष्ट गराउन अपील समेत गरेकी छन् ।उनले सोसल मिडिया इन्स्टाग्राममा भनेकी छन्, ‘मैले सँधै सकारात्मक देख्दै आएकी छु । म पनि अब एक महिनापछि प्लाज्मा डोनेट गर्नका लागि एलिजिबल हुनेछु ।

कोरोना रिपोर्ट पोजेटिभ आयो । पछिल्लो ५÷दिनसम्म मेरो सम्पर्कमा रहनुभएका सम्पूर्णले पनि कोरोना टेष्ट गराउन अनुरोध गर्दछु ।’त्यस्तै, उनले १७ दिनको लागि होम क्वारेन्टाइनमा बसेकी पनि जानकारी दिएकी छन् । कोरोना पुष्टि भएको जानकारीसँगै उनका साथी सर्कल तथा फ्यानहरुले सोसल मिडियामार्फत् रुविनाको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।