काठमाडौं । निषेधाज्ञालाई थप कडाइ गर्ने बारेमा निर्णय गर्न आइतबार काठमाडौं उपत्यकास्थित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।विहिबारदेखि लागु भएको निषेधाज्ञाको समीक्षा गर्दै थप प्रभावकारी बनाउन निर्णय गरिने जानकारी उनीहरुले दिएका छन् ।

बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालय संचालन गर्दा भीड बढेको भन्दै यी क्षेत्रलाई पनि नियमन गर्ने निष्कर्ष उनीहरुको छ ।सरकारी कर्मचारीको संख्या कटौती गर्ने र बैंक तथा वित्तिक संस्थामा एक चौंथाइ कर्मचारीले मात्र संचालन अनुमति दिने गरि निर्णय गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले दिए ।

‘भोलिदेखि ती संस्थालाई कडाइ गरेर निषेधाज्ञालाई प्रभावकारी बनाउने विचारमा छौं’ पराजुलीले भने । शनिबार सार्वजनिक बिदाको दिनमा पनि सरकारी गाडी चलेको पाइएकाले अबदेखि ती निकायकै सिफारिसमै गाडी चलाउन अनुमति दिइने पराजुलीले बताए ।प्रेस पासको हकमा अहिले सम्बन्धित संचारमाध्यमको परिचयपत्रलाई अनुमति दिइएपनि सूचना विभागकै पासलार्ई अनिवार्य गर्ने बारेमा पनि छलफल भैरहेको उनले जनाए ।