काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नुभन्दा सरकारले त्रास फैलाउने काम गरेको बताएका छन्।कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणमा नलागेर सरकारले गम्भीर लापरबाही गरिरहेको पनि पुनले आरोप लगाए।

नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको आरोप समेत लगाए। ‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने,’ पुनले भने, ‘जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केहीपनि चल्न सक्दैन।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको उपचारका लागि शैय्या उपलब्ध गराउन नसकिने अवस्था आएको भन्दै जारी गरेको विज्ञप्ती सच्याउनुपर्ने पनि नेता पुनको भनाइ छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमितको उपचारका लागि शैय्या उपलब्ध गराउन नसकिने अवस्था आएकाले नागरिकहरु आफै संक्रमणबाट जोगिनुपर्ने भन्दै अपिल गरेको थियो।

‘यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्यउपचार, चेकजाँच, परिक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ,’ नेता पुनले भने।

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए।

सरकारले अन्य राजनीतिक दलहरु र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जबरजस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको पुनले आरोप लगाए। नेता पुनले कोरोना नियन्त्रणका लागि सर्वदलिय संयन्त्र बनाउन पनि प्रधानमन्त्रीसँग माग गरे।