काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १६ (बिहीबार)देखि नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो।

वैशाख १६ गतेदेखि सीमानाका बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्च तहमा पुगेका बेला भारतसँगको सीमा बन्द गरिनुपर्ने माग हुँदै आएको थियो। भारतमा कोरोना संक्रमण बढ्दै गएपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु अहिले स्वदेश फर्किन थालेका छन्।

सरकारको निर्णयबाट उनीहरु प्रभावित हुनेछन्। त्यस्तै कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले देशभरका सम्पूर्ण विद्यालय (शिक्षण संस्था) बन्द गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए। तर, विद्यालयहरु कहिलेदेखि बन्द हुनेछन् भन्ने विषय भने सरकारका प्रवक्ताले आधिकारिक रुपमा सार्वजनिक गर्ने उनको भनाइ छ।