मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ।हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौँडामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।

त्यसैगरी सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ।पछिल्लो समय भारतमा कोरोना भाइरसको महामारी बढेसँगै नेपालमा पनि त्यसको जोखिम ह्वात्तै बढेको छ। नेपालमा पछि केही दिनयता कोरोना संक्रमित दर बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६६८ जनामा कोरोना परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो।पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो।