ट्रम्प प्रशासनबाट डाइभर्सिटी भिसामा लगाइएको रोक राष्ट्रपति जो बाइडेनले हटाएपनि काठमाडौं दूतावासले मार्चमा एकजनालाई पनि डाइभर्सिटी भिसा जारी नगरेको खुलासा भएको छ । बाइडेनले ट्रम्पको आप्रवासन रोक खारेज गरेपछि फेबु्रअरीको अन्तिम साताबाट काठमाडौंको दूतावासले सन् २०२१ का विजेताहरुलाई डाइभर्सिटी भिसा जारी गर्ने अपेक्षा गरिएको थियो । तर फेबु्रअरीमा पनि कुनै डिभी विजेतालाई भिसा दिइएन ।

मार्चमा विश्वका अधिकांश अमेरिकी दूतावास र कन्सुलेटबाट डाइभर्सिटी भिसा जारी नगरिएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज जारी गरेको तथ्यांकमा देखिएको छ । विश्वभरबाट मार्चमा २० जनालाई मात्र डाइभर्सिटी भिसा जारी गरिएको तथ्यांकमा देखिएको छ । जसमा घानाका २ जना, अल्जेरियाका १७ जना र क्यामरुनका एकजना रहेका छन् ।

कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंमा नियमित भिसा सेवा सुचारु भएको छैन । कहिलेदेखि सुचारु हुने भन्ने सन्दर्भमा पनि दूतावासले केही बताएको छैन । तर चरणबद्ध भिसा सुचारु गर्ने नियम अनुशार अरु कैयन श्रेणीमा भने सिमित संख्यामा भिसा जारी गरिएको छ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ । उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको थियो । तर अहिले बाइडेन प्रशासनले रोक हटाउँदा पनि भिसा जारी नगर्नुले उनीहरुमा अन्यौल छाएको छ ।

सन् २०२१ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने नियम रहेको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।