ट्रम्पको आप्रवासन रोक अन्त्य भएर २०२१ का डिभी विजेताहरुलाई भिसा दिन सुरु भइसकेको अवस्थामा आगामी जुनमा ६४ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन् । मे महिनामा ५१ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरु भिसाका लागि योग्य हुनेछन् ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी भिसा बुलेटिन अनुशार जुन महिनाका लागि डिभी विजेता नेपालीहरुको कटअफ केस नम्बर उल्लेख गरिएको हो । अहिले ४५ सय सम्म केस नम्बर हुने डिभी विजेताहरुले भिसा पाइरहेका छन् ।

तर कोरोना महामारीका कारण अमेरिकी दूतावास काठमाडौंको भिसा जारी गर्ने क्षमता प्रभावित भएका कारण सुरुतिर केस नम्बर हुनेहरुले छिटो भिसा पाइरहेका छन् । अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसाको प्रकृया अत्यन्तै सुस्त गतिमा अगाडि बढाएको सेवाग्राहीहरुको गुनासो रहेको छ ।

भिसा बुलेटिन अनुशार जुन महिनाका लागि कटअफ नम्बर
मे महिनाका लागि सबै क्षेत्रका लागि सिमाबन्दी लगाइएको थियो भने जुन महिनाका लागि इजिप्ट, इरान र नेपालका डिभी विजेताहरुलाईमात्र सिमाबन्दी लगाइएको छ । अरुका लागि कटअफ नम्बर तोकिएको छैन ।

गत सेप्टेम्बरमा अदालतको आदेशपछि झण्डै ३ साताको अवधिमा झण्डै ४ सय जनालाई भिसा जारी गर्न अमेरिकी दूतावास काठमाडौं सक्षम भएको थियो । मासिक ४ सयको हाराहारीमा डिभी विजेताहरुलाई भिसा जारी गर्न सकेको खण्डमा सेप्टेम्बरसम्म ३५ सयसम्मलाई भिसा जारी गर्न सकिनेछ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ । उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको हो । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ।

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरुपनि अमेरिका आइसकेका छन् । कुल ४०४ मध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।