कोरोना महामारीले तीव्र रूप लिँदै गएपछि सरकारले होटेल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। तर घरमै डेलिभरी गर्न भने कुनै रोक लगाइएको छैन।

सरकारले मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामीलगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाहलगायत कार्य गर्नुपर्ने भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर २५ जनाभन्दा बढी उपस्थित नहुने गरी गर्न सकिने आदेश जारी गरेको छ।

यसैगरी सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्विमिङ पुललगायत भिडभाड हुने ठाउँलाई भने वैशाखभरि बन्द गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। यसैगरी धार्मिक स्थलमा वैशाख मसान्तसम्म नित्य पूजा मात्रै गर्न÷गराउन, एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न पनि आदेश दिइएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यसै क्रममा छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने स्थिति भयावह भएर जाने र लकडाउन गर्नुपर्ने अवस्था आउने चिकित्सकले बताएका छन् ।

कोरोना संक्रमण सम्बन्धमा अन्तर्राष्ट्रि रुपमा नै गहन अध्ययन गर्दै आइरहेका विज्ञ डा. रमेशकुमार आचार्यले नेपालमा युके भेरियन्ट र ब्राजिलियन एपी वान इन्फेक्सन भाइरस भित्रिसकेकाले स्थिति अझै भयावह भएर जान सक्ने भन्दै सचेत र सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।

‘नेपालमा ब्राजिल, युके र इन्डियाको नयाँ भेरियन्ट भित्रिसकेको छ र समुदायमा फैलिसकेको छ त्यसैले आगामी दिन झनै जटिल र भयावह बन्न सक्ने देखिन्छ ।’ विज्ञ डा. आचार्यले भने। यो समाचार आजको राजधानी दैनिकमा छ ।