काठमाण्डाै – सरकारले मास्क नलगाउनेलाई गाडी चढ्न नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक गाडीमा मास्क अनिवार्य गर्ने र मास्क नलगाएकालाई गाडी चढ्न नदिन गाडी चालक र सहचालकलाई निर्देशन दिएको छ ।

यस्तै चालक या सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क बेच्न पाउने छन् । यस्तै चालक र सहचालकले पनि मास्क अनिवार्य लगाउने, गाडीमा अनिवार्य स्यानिटाइनर राख्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउने नियम पनि सरकारले जारी गरेको छ ।

लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउने छन्, बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । उनीहरूले गाडीमा रहेका यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ । त्यस्तै सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले होटेल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाउने नियम बनाएको छ ।

दोस्रो चरणको कोरोना संक्रमण रोकथामका लागि बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएउनुभएको हो। उहाँका अनुसार ८ बजेपछि भने होम डेलिभरी मात्र गर्न पाइनेछ । यसैगरी मास्क नलगाइ सरकारी कार्यालय प्रवेश गर्नेलाई नि’षेध गरिएको छ ।

सरकारी कार्यालयसँगै डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाइएको छ ।यसैगरी विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरिएको छ ।