काठमाडौ । सानी छँदा निकै चञ्चले थिइन् दीक्षा रिमाल, आफ्नै ठूला–ठूला गाजले आँखाजस्तै । खेल्न–कुद्न खुब मन पराउने। घर परिवार मात्र होइन, छिमेकमा पनि उनी निकै प्रिय थिइन्।

पश्चिम चितवनको मंगलपुरमा जन्मेकी दीक्षा मध्यम वर्गीय परिवारकी हुन् । चार दिदीबहिनीमध्ये कान्छी छोरी, मायाकी डोरी, यस्तै थियो उनको बाल्यकाल ।

उनका बुबाआमा खेतीपाती गर्थे । तर, खेतीपातीको सानो काम पनि उनले गर्नुपर्दैनथ्यो । ‘घरमै बसेर पढ्, काम हामी गर्छौं,’ यसै भन्थे उनका दिदीहरू । भुटेको मकै, दूध हालेको पुवा खाजा अझै सम्झना आउँछ उनलाई ।

‘सबैको माया पाएर पुलपुलिएकी थिएँ,’ दीक्षा पुराना दिन स्मरण गर्छिन्, ‘दिदीहरू पढेर काम पनि गर्ने मैले केही गर्नैनपर्ने क्या मज्जा थियो ।’

पछि उनको परिवार भरतपुर बजारमा बसाइँ स¥यो । भरतपुर बसेनीस्थित स्कुलमा कक्षा ८ सम्म अध्ययन गरिन् । नौ कक्षा भने नारायणी माविमा भर्ना भइन्, ०५६ मा । त्यतिबेला उनी १८ वर्षकी थिइन्। बुबाका साथीका आफन्त उनको हात माग्न आए । भरतपुरमा घर, खान्दान राम्रै थियो ।

‘यतिको परिवारमा छोरीको भविष्य सुखी हुन्छ भन्ने बुबाले सोच्नुभयो,’ उनले भनिन्, ‘अनि बिहे पक्का गरिदिनुभयो।’ उतिबेला केटाको चालचलन भन्दा पनि कुल खान्दान हेरेर छोरी दिने चलन थियो । ‘अघिल्लो दिन हेराहेर भयो अनि पर्सिपल्ट बिहे भयो,’ बिहे हुँदाको अवस्था बताउँछिन् दीक्षा ।

बिहेपछिका दुर्दिन

उनको ठूलो सपना थिएन । ‘पति, सासुससुरा र आफ्नो बच्चाको एउटा सुखी परिवार होस् भन्ने सोच्थेँ,’ उनले भनिन्, ‘तर, सोचेजस्तो नहुँदो रैछ ।’

बिहे भएको सात दिन भएको थियो, पतिको कपडा धुँदा खल्तीमा औषधिका बट्टाजस्ता केही कुरा फेला पारिन् उनले । बेलुका बुझ्दा उनले थाहा पाइन्, पति लागू पदार्थ दुव्र्यसनी रहेछन् ।

‘मेरा लागि हैन, बुबाआमाका लागि मैले तँलाई बिहे गरेको हुँ, चुप लागेर बस्,’ पतिले उनलाई गाली गरे । एक–दुई महिनापछि उनी गर्भवती भइन् । बिहे भयो, अब छोराछोरी भएपछि कुलत छाड्लान् र आफूलाई पनि माया गर्लान् भन्ने उनलाई लागेको थियो । तर, गर्भवती अवस्थामै पनि उनले पतिबाट माया पाइनन्। बाहिर देखाउँदा निकै माया गरेजस्तो गर्थे, कोठाभित्र भने यातना दिने र लाञ्छना लगाउँथे ।

सानै उमेरमा गर्भ रहेकाले उनलाई बच्चा जन्माउन निकै कठिन भयो । गर्भावस्थामा पतिले राम्रो स्याहार नगरेकैले उनी झन् कमजोर भएकी थिइन् । माइतीको आमाले अस्पतालमा हेरचाह गर्नुभयो । सात दिन निकै गाह्रोसँग बित्यो । घरका सदस्यले उनीबाट छोरा चाहन्थे । ‘तर छोरी पाएँ, त्यसपछि सासु–ससुरा कोही हेर्न समेत आएनन्,’ उनले भनिन्, ‘छोरी हेर्न श्रीमान् भने आए ।’

सुत्केरीको ११ दिन निकै कष्टकर बित्यो । त्यसैले छोरीको न्वारन गरेपछि आमाले माइत लगिन् उनलाई । दुई–तीन महिना माइतै बसिन् । बेलाबला पति भेट्न आउँथे । पतिले फकाउलान् घर लैजालान् भन्ने उनीमा आशा पलाउँथ्यो, तर पतिले नानाथरी भनेर तनाव दिएपछि उनको आशा त्यसै मथ्र्यो ।

पाँच महिनाकी छोरीलाई स्याहार नपुगेर निमोनिया भयो । घरकाले छोरी पाएको भनेर हेला गर्ने, पहिलो बच्चा स्याहार गर्न सिकाउने कोही भएनन् । छोरीको समस्या बढ्दै गयो । दश महिनाकी हुँदा कान्ति अस्पतालमा उपचारकै क्रममा छोरी खसिन् । छोरी खस्दा न उनका पति उनको साथमा थिए न त घरका अन्य सदस्य ।

उनका पति झन्झन् कुलतमा फस्दै गए । सप्रन्छन् कि भनेर घरबाटै विदेश पठाउने सल्लाह भयो । ‘विदेश जान गरिएको मेडिकल टेस्टमा उहाँलाई एचआइभी संक्रमण पो देखियो,’ उनले भनिन् ।

०५८ सालतिरै हो, घरमा सबै जम्मा भएका थिए । रगतमा खराबी देखियो भनेर उनका पतिले घुमाउरा कुरा गर्दै थिए । ‘मलाई डर लाग्यो, फ्याट्ट मुखमा आइहाल्यो– के आएछ, एड्स लाग्यो हो भनेर सोधिहालेँ,’ उनले त्यो पल बताइन्, ‘सबै चुप भए । केही हैन, काठमाडौंमा जँचाएपछि थाहा हुन्छ भने ।’

दीक्षाकी आमाले दुवैको रगत जाँच गरिन् । सुरुवाती परीक्षणमा दीक्षाको रगतमा कुनै खराबी देखिएन । पछि दुवैमा एचआइभी संक्रमण देखियो । ‘सुरुको स्टेज हो, उपचार गरे आयु बढाउन सकिन्छ भन्थे डाक्टरले,’ दीक्षा भन्छिन्, ‘निकै हुन्छ कि भनेर उपचार गर्न आमाले भारत पनि लैजानुभयो चारपाँच वटा अस्पताल धाउँदा पनि पोजिटिभ नै आएपछि घर फर्कियौं ।’

संक्रमित भएपछि झन् पीडा

घर अब पहिलेको जस्तो घर रहेन । ‘हामी दुवैलाई घरमा राख्नुभएन, पूर्वचितवन पर्सामा हार्डवेयर पसल खोलिदिएर राखे,’ उनले भनिन्, ‘तर, श्रीमान्को चेत अझै आएन ।’ व्यापार भएको पैसाले ड्रग्स खाने बानी गएन । यसै मर्ने, उसै मर्ने भनेर उनी रातदिन नशामा झुम्न थाले । दीक्षाले भने चिकित्सकले भनेअनुसार औषधि खान छाडिनन् । घरमा सासु नबोल्ने, परिवारका सदस्यबाट उनले माया र सद्भाव पाइनन् । ‘पहिले माया गर्ने आमाजूले पनि ब्युटिपार्लरमा थ्रेडिङ गर्दा स¥यो कि एड्स भनेर मलाई नै आरोप लगाएपछि निकै रोएँ,’ उनले भनिन् ।

पतिले नशा खाएर कुटपिट गर्न थाले । एक दिन आमाले हातमा घाउ देखेपछि सोधिन्, ‘छोरी यो के भयो ?’ दीक्षा ढाँटेर जवाफ दिइन्, ‘लड्दाखेरी कोतरेको आमा ।’ आठ महिना जतिपछि गालामा बुट जुत्ताले हानेको डाम आमाले फेरि देखिन् । के भयो छोरी यस्तो भनेर सोधेपछि उनी चुप लाग्न सकिनन् । धर्धरी काखैमा रोइन् । आमाको मन न हो । त्यति माया गरेर हुर्काएकी छोरीको त्यो अवस्था सहन सकिनन् ।

सम्बन्ध विच्छेद गराएरै छोरीलाई आफैँले राख्ने उनले निर्णय गरिन् । उनले सम्बन्ध विच्छेद गराउने वकिल फेला पारिनन् । छिमेकमै रहेका एक वकिलले एक महिला वकिल चिनाइदिए । दीक्षाका पतिका परिवारले धम्की दिन थालेपछि ती महिला वकिलले पनि मुद्दा नहेर्ने भइन् । वकिल नपाएर धेरै दिन मुद्दा त्यसै रह्यो । महिला सेलमा पुगेको फाइल लामो समय अगाडि बढेन । एक दिन उनकी आमा आफैँले मुद्दाको फाइल थुतेर ल्याइन् ।

दीक्षा भन्छिन्, ‘म सीधै न्यायाधीशकहाँ पुगेर भनेँ– मलाई अंश चाहिन्न, मेरो यो अवस्था उसले गरेर भयो । मात्र मलाई ऊदेखि छुटकारा चाहियो ।’ न्यायाधीशले उनको मर्म बुझे । सम्बन्ध विच्छेद मात्र होइन, अंश पनि दिलाइदिए । घर–समाजमा भने पतिका परिवारले बुहारीकै कारण छोरालाई संक्रमण लागेको हल्ला फिँजाइरहे । साढे दुई वर्षको वैवाहिक जीवन सकियो । उपचारको लापरवाहीकै कारण ०६३ मा उनका पूर्वपतिको निधन भयो । ‘खबर सुनेर कता–कता माया लागेर बिरामी नै परेँ,’ दीक्षाले भनिन्, ‘म पनि मर्छु त्यसैगरी भन्ने चिन्ताले अस्पताल भर्ना हुनुपयो ।’

एकल जीवन झनै कष्टकर

सम्बन्ध विच्छेदपछि माइतीमै फर्के पनि उनलाई चयन भएन । एक्लै बस्थिन्, टोलाउँथिन् । बिरामी हुँदा उनी बुबाआमासँग खुब कलह गर्थिन् । ‘बाबुआमालाई पनि दोष लगाउन मन लाग्थ्यो, तपाईंहरूकै कारण यस्तो भयो, केटा हेरेर दिनुपथ्र्यो भन्थे,’ दीक्षा भन्छिन्, ‘मेरा कुराले बुबाआमा पनि मसँगै धरधरी रुनुहुन्थ्यो।’

एकल जीवन बिताउन थालेपछि उनले बिस्तारै बुझ्दै गइन् । बाबुआमा र अन्यलाई दोष दिन छाडिन् । समाजले हेला गर्न भने छाडेन । स्कुल पढेका साथी पनि बोल्दैनथे । छिमेकी साथीहरूसँगै हिँड्थे तर सँगै चटपटे खाने बेला उनका हातले झिक्दा तर्कन्थे । एड्स सर्छ भनेर सँगै जोडिएर बस्न खोज्दैनथे ।

‘साथीहरू म बसेको बेन्चमा पनि बस्दैनथे, मैले छोएको खाँदैनथे । मिनीबसमा हिँड्दा पनि चिनेकाहरू छोइयो भने हात टकटकाउँथे,’ उनले समाजमा भोगेका तीता पल सम्झिइन्, ‘एचआइभी लागेको मान्छेलाई चिन्नुपर्छ, बोरामा हालेर नारायणीमा फाल्नुपर्छसम्म भने ।’

आफूजस्तैको सेवा जुटेका पल

२२ वर्षको भर्भराउँदो उमेर त्यसै बस्न सकिनन् । घरमा फेरि बिहेको कुरा चल्यो । औषधि खाँदै रहे एड्स सर्दैन, बिहे गर भनेर माग्नेहरू पनि आए । तर उनले फेरि बिहे गर्ने आँट गरिनन् । एचआइभी संक्रमितका लागि चेतना फैलाउने संस्था जनरल वेलफेयर प्रतिष्ठानबारे उनले बुझ्ने मौका पाइन्, त्यही संस्थामा काम गरिन् । आफूजस्तै संक्रमितलाई परामर्श दिने, औषधि खान र बाँच्न प्रेरणा दिने काम उनलाई मन पर्‍यो ।

उनी आफैँले ०६१ मा विधिवत रुपमै चितवन सक्रिय समूह खोलिन् । ‘संक्रमित खुलेर आउने अवस्था थिएन,’ उनी भन्छिन्, ‘आएका पनि पहिचान लुकाउँथे तर मैले लुकाइन् ।’ उनले हिम्मत गरेर सञ्चारकर्मीसँग खुलेर कुरा गर्न थालिन् । त्यति गर्दा पनि जम्मा पाँचजना थिए, संस्था खोल्दा । संक्रमितको संस्था भनेपछि घरबेटीले पनि कोठा दिँदैनथे । दिएका ठाउँमा पनि त्यहाँ बस्ने अन्यले रोक्थे । ‘यिनीहरूलाई राखे हामी छाड्छौँ भन्थे,’ उनले भनिन्, ‘बिरालाले बच्चा सा¥याझैँ कोठा लीलाचोक, पुतली बजार, सहिदचोक सार्दै हिँड्यौँ ।’ संस्था चलाउन पैसा थिएन । उनीहरू आफ्नै पैसाले ब्यानर टाँस्दै चेतना फैलाउँदै गर्न थाले ।

सडकमा मान्छेहरूले सोध्थे, ‘तपाईंहरू नि बम्बईबाट फर्केको हो ?’ यस्ता प्रश्न आउन थालेपछि उनका साथी पर्चा टाँस्न जान पनि मानेनन् । पछि उनीहरुले लोकदोहोरी कार्यक्रम गरेर संस्थाका लागि पैसा जम्मा गर्न थाले । ‘गाउँका मानिस संक्रमितका कार्यक्रम हेर्न आउँदैनौ भन्थे । हामी घरघरमै गएर बुझाउने प्रयास गथ्र्यौं,’ दीक्षा संघर्षका दिन सम्झन्छिन् ।

अहिले संस्थामा २५ सदस्य छन् । यो बीचमा एकजनाको निधन भयो । ‘साथीहरू हाम्रो पनि यही हालत हुने हो कि भनेर चिन्ता गर्थे,’ दीक्षा भन्छिन्, ‘तर मैले हार मानिनँ ।’

अहिले तीन सयभन्दा बढी संक्रमितले उनको संस्थाबाट निःशुल्क उपचार सेवा पाइरहेका छन् । एमआरआई, सिटिस्क्यान गर्दा लाग्ने खर्च पनि नसक्नेलाई जुटाइदिन्छन् । चितवन, गोरखा, परासी, वीरगन्ज, हेटौँडा, सुदूरपश्चिमलगायत क्षेत्रबाट संक्रमित आउने गर्छन् ।

संक्रमित परिवारका ४५ बालबालिकाको हेरचाह पनि उनको संस्थाले गर्छ । पहिले उपचारका लागि जिल्ला विकास समितिले संक्रमतिलाई दिने एक हजार रुपैयाँ लिन हजार बिन्ती गनुपथ्र्यो । ‘अहिले वर्षको आठ लाख रुपैयाँ छुट्याएर दिन्छ,’ उनले सफलता सुनाइन्, ‘संस्थाको खातामै १३ लाख रुपैयाँ छ ।’

संक्रमितको हौसला बढाउन सन् २००५ मा ‘मिस एचआइभी स्टिगमा फ्री’ प्रतिस्पर्धा आयोजना गरिन् । एचआइभी संक्रमित कम छैनन्, उनीहरूले केही गर्न सक्छन् भन्ने उद्देश्यले गरिएको प्रतिस्पर्धामा आठजना सहभागी भए । उपाधि दीक्षाले नै जितिन् । यीबाहेक धेरै पुरस्कार र सम्मान उनले हात पारेकी छन् । अघिल्लो वर्षदेखि चितवन सक्रिय महिला प्रतिष्ठान भनेर संस्थाको नाम परिवर्तन गरी महिला हकमा समेत उनी सक्रिय छन् । गत वर्ष नै दश हजार अमेरिकन डलर राशिको ‘अन्तर्राष्ट्रिय रेट्रिभन अवार्ड’ जितेपछि उनी अन्तर्राष्ट्रिय जगत्मा पनि कामले चिनिएकी छन् । बिहानदेखि साँझसम्म उनी संक्रमितका लागि काम गर्छिन् ।

‘बिहे गर्दा कुलघरान होइन केटा हेरौँ’

‘समाजमा देखावटी कुरामा केही परिवर्तन भएको छ तर पूरै परिवर्तन भसकेको छैन,’ दीक्षा भन्छिन्, ‘मेरो न छोरा छन्, न त छोरी । त्यसैले म खुलेर हिँड्न, बोल्न सकेँ तर भएकाहरू अझै खुल्न चाँहदैनन् ।’

उनका अनुसार समाजमा परिवारका अन्य सदस्यलाई अप्ठेरो हुन्छ भनेर धेरै एचआइभी संक्रमित बाहिर आउन चाहदैनन् । ‘छोरीको बिहे गर्दा कुल–घरान हैन, केटाको सबै कुरा बुझेर मात्र दिनुस्,’ उनी भन्छिन्, ‘अझ बिहेअघि नै रगतसहित स्वास्थ्य परीक्षण गर्दा छोरीको भविष्य सुरक्षित हुन्छ ।’

संक्रमण भइहाले निरन्तर औषधिले आयु बढाउन सकिन्छ भन्ने समाजमा चेतना बढाउन अझै बाँकी रहेको र बच्चाको मुद्दा बढी जटिल रहेको उनले बताइन् । उनको संस्थाले एक्लो महसुस गर्ने, चिढिने, मर्छु भन्ने, आमा बाबुप्रति आक्रोश पोख्ने जस्ता संक्रमित बालबालिकाका क्रियाकलाप न्यूनीकरण गर्न कोसिस गरिरहेको छ । ‘संक्रमित महिलाको हकहितका लागि कानुनी सेवाका लागि पहल गर्छौं, उनले भनिन्, ‘मैले जे भोेगेँ, त्यो अरुले भोग्न नपरोस् ।’

संक्रमितका लागि सेल्टर हैन, घर नै सबैभन्दा राम्रो ठाउँ हो । मरिहाल्ने त हो नि सम्पत्ति किन चाहियो भनेर बेवास्ता गर्ने चलन अझै रहेको उनी बताउँछिन् । उनको संस्थाले उपचारका क्रममा करिब एक महिना सेल्टरमा राखेर परिवारमै पुनर्मिलन गराउने गर्छ । उनी भन्छिन्, ‘संक्रमितलाई सक्रिय बनाउन आय–आर्जन तालिमसँगै काम दिने गर्ने वातावरण चाहिएको छ ।’