११ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई २०७८ को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा ११ मा भर्ना पाउनका लागि ग्रेडिङ विधि अनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस तथा ११ कक्षामा विज्ञान समूहमा भर्ना हुन अनिवार्य विज्ञान र गणित विषयमा सी प्लस ल्याउनै पर्ने व्यवस्था छ । आठ विषयमा परीक्षा दिँदा तीन विषयमा भने जुन ग्रेड ल्याउँदा पनि हुन्छ ।

११ कक्षामा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एगि्रकल्चर पर्छन् । तर, यस समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए दुई ल्याउनै पर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् ।

सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्टि्रकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट परीक्षा दिएका विद्यार्थीका लागि हो ।

विज्ञान र सीपमूलक समूहमा भर्ना हुन पाउने विद्यार्थीको विषयगत योग्यता निर्धारण गरिएको भए पनि मानविकी, व्यवस्थापन र शिक्षा विषयमा भने छुट्टाछुट्टै योग्यता तोकिएको छैन । जुनसुकै समूहमा भर्ना भए पनि ऐच्छिकसँगै विद्यार्थीले अनिवार्य विषय पढ्नुपर्छ ।

मापदण्डअनुसार समग्र नतिजामा न्यूनतम जीपीए १.६ ल्याएका तर म्याथ, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानसहित पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउनेछन् । यी समूहमा म्याथ, जिओेग्राफी, एकाउन्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथमेटिक्स, साइकोलोजी, एलिमेन्ट्स अफ फाइनान्स, ज्योतिष, को-अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, बिजनेस म्याथमेटिक्सलगायत विषय पर्छन् ।