साउन ६, काठमाडौ : सुनसरी कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवार आइतबार बिहानै काठमाडौं आइपुगे। उनी काठमाडौं आउनबित्तिकै कोटेश्वरको डेरामा सामान राखेर काठमाडौं उपत्यका अपराध अनु-सन्धान कार्यालय पुगेका थिए।

उनी ग्लोबल आइएमई बैंकमा रहेको पैसा चोरी भएको भन्दै त्यहाँ पुगेका थिए। उनी प्रहरी कार्यालय पुगेको यो पहिलो दिन भने होइन। एक वर्षदेखि त्यहाँ धाइरहेका छन्। उनको बैंक खाताबाट हराएको पैसा अझै फेला परेको छैन। न त बैंकले त्यो पैसा फिर्ता गर्छु भनेको छ।

भिन्डवार सन् २०१० अप्रिलमा काम गर्न मलेसियामा गएका थिए। पटक-पटक नेपाल आउजाउ गरिरहन्थे। परदेशमा पसिना बगाएर कमाएको पैसा जम्मा गर्न उनले बैंक खाता पनि खोले।उनले सन् २०१६ अप्रिल १४ मा पानीपोखरीस्थित ग्लोबल आइएमई बैंकमा खाता खोलेका थिए।त्यसयता आफूले कमाएको पैसा र घरपरिवार र अरू रकम त्यही खातामा राख्दै आएका थिए।

उनको खातामा ८ लाख रुपैयाँ जम्मा भइसकेको थियो। सन् २०२० को मार्चमा उनी नेपाल फर्किए। बैंकमा भएको पैसा चाहिएपछि जतिबेला पनि निकाल्न मिल्छ भन्नेमा उनी ढुक्क थिए।

केही महिनापछि सुनसरीको इनरूवास्थित ग्लोबल आइएमईको शाखामा गएर उनले दुई लाख रुपैयाँ निकाल्न खोजे। पैसा निकाले मोटरसाइकल किन्न लागेका छिमेकीलाई सापट दिने उनको योजना थियो। उनी चेक का-टेर बैंकको काउन्टरमा पुगे।बैंकका कर्मचारीले उनको खातामा भएको पैसा हेरे। उनको खातामा पैसा देखिएन।

कर्मचारीले यो खातामा भएको पैसा त पहिला नै निकालिसकेको छ, भनेपछि उनी छाँगाबाट खसेजस्तो भए। १० वर्ष मलेसियामा हाडछाला घोटेर उनले बैंकमा ८ लाख २६ हजार जम्मा गरेका थिए। त्योमध्ये ७ लाख त झिकिइसकेको रहेछ।

यो सब कसरी भयो उनले मेसो पाउन सकेनन्। आफ्नो खाताबाट पैसा चोरी भएको के-कसरी हो भन्दै उनले बैंकलाई निवेदन लेखे। स्टेटमेन्ट हेर्दा थाहा भयो उनको खाताको सबै पैसा मोबाइल बैंकिङबाट कारोबार भएको रहेछ।

भिन्डवारले मोबाइल बैंकिङ नचलाएको बताए। बैंकले भने उक्त खातामा मोबाइल बैंकिङ एक्टिभेट गर्न भरेको फारम देखायो।
उक्त फारममा अक्षरहरू फरक-फरक भएको र त्यसमा लेखिएका अक्षर आफ्नो नभएको भिन्डवारले बताए। आफूले बैंक खाता खोल्दा दिएकै नागरिकताको फोटोकपीलाई काटेर अर्को कपी बनाएको पनि उनको दाबी छ।

खाता खोल्दा दिएको नागरिकतालाई नै काटेर मोबाइल बैंकिङको खाता खोल्न प्रयोग भएको छ। मैले दिएको नागरिकतामा भएका दागहरू र मोबाइल बैंकिङको लागि राखेका दागहरू एउटै छन्। तर मैले दिएको फोटोकपीको छेउमा हस्ताक्षर छ, उनले भने, मोबाइल बैंकिङको लागि प्रयोग हुँदा त्यही नागरिकताको फोटोकपीको हस्ताक्षर भएको पट्टी काटिएको छ।