काठमाडौं । नेपाल टेलिकमले साउन १ देखि लागु गरेको समर अफर अन्तर्गत हाल केही नयाँ र आकर्षक अफर समेत उपलब्ध गराइरहे को छ । कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी गराएका छन् । नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको छ ।

२० मिनेट भ्वाइस प्याक रु. १५ मा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि रु. ४९ मा उपलब्ध छ । त्यसैगरी नयाँ अफरको रुपमा १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा १ दिन (२४ घण्टा) को लागि रु. ४९ मा उपलब्ध छ ।

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ भने सीयूजी अफर अन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम उपलब्ध गराइएको छ । सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ ।

त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन् ।पहिले उपलब्ध अधिकांश अफरहरुलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको छ । साथै, कतिपय अफरलाई परिमार्जन गरिएको छ । समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ ।