नेपालको निजामती प्रशासन उच्च तहका कर्मचारी र तल्लो तहका कर्मचारीबीच रहेको विभेद हटाउन एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले माग गरेको छ ।‌‌ उच्च कर्मचारीलाई महंगो गाडी सुविधा दिने तर, तल्लो तहका कर्मचारीलाई भने परिवहन खर्च समेत तलबबाट खर्च गर्नुपर्ने अवस्था छ ।

यस्तो अवस्थामा गाडी सुविधा नपाउने कर्मचारीलाई परिवन भत्ता दिन माग गरिएको छ ।

सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर संगठनका पदाधिकारीहरुले यस्तो माग गरेका छन् ।

आगामी बजेटमा कर्मचारीका सेवा सुविधा बढाउन माग गरिएको संगठनका अध्यक्ष मोहन कुमार घिमिरेले बताए ।

संगठनले कर्मचारीको आधारभुत तलब ३० हजार बनाउन माग गरेको छ । अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पनि माग गरिएको छ ।

पर्यटन काज सुविधा, स्थानीय भत्ताको बृद्धि, अवकाश हुँदा सुविधाको रकममा कर नलाग्ने व्यवस्था, कार्यसम्पादनमा आधारीत भत्ता प्रणाली लागू गर्न माग गरेको छ ।

त्यस्तै सरकारी सेवामा कार्यरत अस्थायी र करारका कर्मचारीलाई एकपटकका लागि उमेरहद नलाग्ने गरी स्थायी गर्न पनि माग गरिएको छ ।