काठमाडौं, साउन ३ – राजधानीको जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र

पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । आज मध्यान्ह तिर निस्किएको उक्त फोहोरा अहिले पनि निरन्तर छ ।

उक्त फोहोरा करिब ५० मिटर माथिसम्म पुगेको छ । प्रहरीले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दे यस क्षेत्र वरिपरि आगो नबाल्न आग्रह गरेको छ ।

यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ ।

वरपरका घर आँगन बालुवा र माटोले ढाकिएको छ । माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।