काठमाडौं । काठमाडौंमा खाजाघरमा नाबालिकाहरूलाई वेश्यावृत्तीमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा २८ वर्षीया चिनीमाया लामा लिम्बु पक्राउ परेकी छिन् ।

टोखा नगरपालिका–९ बस्ने ईलामको माई नगरपालिका–७ घर भएकी लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

लिम्बुले २ जना नाबालिकाहरूलाई टोखा नगरपालिका–९ मा संचालन गरेको खाजा होटलमा ग्राहकहरूसँग प्रतिव्यक्ति १ हजार रुपियाँ नगद लिई नगद आफूले नै राखी पीडितहरूलाई खाना मात्र खुवाई जबरजस्ती वेश्यावृतीमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्रासमा पारी बन्धनमा राखेको अवस्थामा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले जेठ १३ गते उद्दार गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेकी लिम्बुविरुद्ध ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । (सांकेतिक तस्वीर)