गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा नं. १ च्युरेक ठाडाबाटकाे जम्दार टाेलमा बुधबार बिहानै देखि चहल पहल छ । भएभरका छाेरा बुहारी नातिनातिना पलाँति-खलाँति जम्मा भएका छन । गाउँभरीकाे ध्यान जम्दार्नी आँबैकाे घरतर्फ केन्द्रित छ ।

घरभरी परिवार जम्मा हुँदा जम्दार्नी आमा खुसीले गदगद छन र कहिले नाति नातिनासँग कुरा गर्छिन । कहिले साना पलाँतिनि खेलाउँछिन ।

एउटा दुर्लभ दिन, एउटी आमा छाेराका चौरासीपुजामा सरिक हुने याे संयाेग सम्भवत अहिले सम्म सुनिएकाे छैन जुन संयाेग जम्दार्नी आँबैकाे घरमा जुटेकाे छ ।

“यस्ताे कर्म सबैकाे कहाँ हुन्छ र आमाले छाेराकाे चौरासी गरेकाे याे संयाेग हजारौं वर्षमा सुन्न पाईन्छ र हामीले याे अवसर देख्न पायौंँ । हामी धन्य छौँ” च्यूरेकका पण्डित पशुपति घिमिरेले भने ।

जम्दार्नी आँबैका जेठा छाेरा धन बहादुर सुवेदी क्षेत्रीकाे चौरासी पुजामा एकसय दस वर्ष पूरा गरेकी आमा ईन्द्र कुमारी सुवेदी क्षेत्रीले छाेराकाे दिर्घ जीवनका लागि आशिर्वाद दिईरहेकाे नजारा देख्न लायक थियाे ।

बिक्रम सम्वत १९६९ मा च्यूरेक ठाडाबाटाका वीर बहादुर क्षेत्रीकी जेठि छाेरिकाे रुपमा जन्मेकि इन्द्र कुमारी क्षेत्रीकाे विवाह पनि ठाडाबाटाकै पदम बहादुर सुवेदीसँग भएकाे थियाे ।

भारतकाे ९ जिआरमा भर्ति भएका जमदार्नी आँबैका बुढा फौजमा जमदारकाे दर्जा पाएपछि बुढा जमदार बा बने र इन्द्र कुमारीकाे नाम जम्दार्नी आँबै बन्याे ।

जम्दार्नी आँबैकाे तिनभाई छाेरा बुहारी नाति नातिना पलाँति खलाँति गरि चारदर्जन परिवार छन ।

जेठा छाेरा धन बहादुरसंग बस्दै आएकी जम्दार्नी आंबैकाे रेखदेख जेठि बुहारी तुल्सा सुवेदीले गर्दै आईरहेकी छन तर आमा प्रतिकाे जिम्मेवारी सबै छाेरा बुहारी नाति नातिनाले उत्तिकै लिएका छन ।

छाेराकाे चौरासीमा आँखाबाट खुसिका आँसु झार्दै जम्दार्नी आँबैले छाेरालाई आशिर्वाद दिईन र भाग्यमानि छाेराले एक सय दस वर्षकी आमाबाट शिर निहुर्याएर आशिर्वाद लिए ।