नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले आगामी असार २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्को हिजाे बसेको बैठकले सार्वजनिक विदाको निर्णय गरेको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिनुभयो । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनुभएका आचार्यको सम्मानमा भानु नगरपालिकाले पनि दुई वर्षदेखि सार्वजनिक विदा दिँदै आएको छ ।

विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ असोज ६ गते नि` धन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविको रुपमा परिचित आचार्य वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

आचार्यले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेख्नुभएको छ । उहाँका पाण्डुलिपीलाई सङ्ग्र्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि आचार्य नेपाली साहित्यिमा चिनिनुभएको हो ।