काठमाडौं, असार २७ – धनकुटामा यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ परेका छन्। आफैँले पढाउने छात्रालाई यौन दुर्व्यवहारको आरोपमा देउराली माविका शिक्षक चन्द्रकुमार राई पक्राउ परेका हुन्।

उनीमाथि कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई यौन दुर्व्यवहारको आरोप लागेको छ। उनीविरुद्व असार २६ गते उजुरी परेको थियो। असार २१ गते विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै शिक्षक राई फरार भएका थिए।

उनलाई विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग छ। प्रहरीले असार २६ गते राति विद्यालय हाताबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।

राईले विद्यालयका ११ वर्ष देखि १५ वर्ष उमेर समूहका छात्राहरूलाई मैयाँ भनेर जिस्क्याउने, ब्राको इलास्टिक तन्काइदिने, संवेदनशील अङ्गमा छुने, गालामा चिमोट्ने, कम्मरमा समातेर आफूतिर तान्ने, अश्लील शब्द प्रयोग गर्ने लगायतका क्रियाकलाप गरेको उजुरीमा उल्लेख छ।

अपराह्न उजुरी दर्ता भएसँगै प्रहरीले राति साढे ८ बजे विद्यालय हाताबाटै शिक्षक राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । घटनाबारे विद्यालयमा छलफल गर्न बोलाइएका राईलाई छात्रछात्रा र अभिभावकले घेराउ गरेर राखिएको अवस्थामा नियन्त्रणमा लिएको एसपी अधिकारीले बताए । राईले उक्त विद्यालयका १३ देखि १६ वर्ष उमेर समूहका बालिकाको संवेदनशील अंगमा छुने, लुगा फुकालिदिने, अश्लील शब्द प्रयोग गर्नेलगायतका क्रियाकलाप गरेको उजुरीमा उल्लेख छ ।

धनकुटाको सहिदभूमी गाउँपालिका ३ कुङलाङ घर भएका राई २०६४ सालदेखि विद्यालयमा राहत दरबन्दीमा पढाउँदै आएको विद्यालय स्रोतले जनाएको छ । पीडित बालिकाहरुले यसअघि प्रधानाध्यापक यमबहादुर बस्नेत तथा अभिभावक संघका अध्यक्ष सोमबहादुर राईलाई घटनाबारे लिखित जानकारी गराएका थिए । तर बस्नेत र राईले उजुरी बेवास्ता गरेको पीडित बालिकाहरुले गुनासो गरे । पछिल्लो समय बालिकाहरु विद्यालय नजाने भन्दै रुवाबासी गर्न थालेपछि सोधखोज गर्दा घटना बाहिरिएको एक अभिभावकले बताए । शिक्षक राईले केही वर्षदेखि बालिकाहरुलाई यौन दुर्व्यवहारजन्य क्रियाकलाप गर्दै आएको जनाइएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालयमा अभिभावकसहित उजुरी लिएर पुगेका बालिकाहरुले तत्काल पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेका थिए । तर, दिनभर प्रहरीले पक्राउ नगरेपछि आफूहरुले नै संलग्न शिक्षकलाई खोजी विद्यालयमा ल्याएर घेराउ गरेको बालिका तथा उनीहरुका अभिभावकले बताए । पीडित बालिकाहरुको आइतबार नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

घटनाबारे गहिरो अनुसन्धान गरिने प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले बताए । बाल यौन दुरुपयोग मुद्दामा राईविरुद्ध प्रक्रियाअघि बढाइने उनले जानकारी दिए । मुलुकी ऐन अपराध संहिता २०७४ को २२५ दफाअन्तर्गत कसुरमा अदालतसमक्ष मुद्दा अघि बढाइने जनाइएको छ ।