काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट नेपालका लागि एक खुःशीको खबर आएको छ । अमेरिकामा केही प्रतिनिधि संस्थामा बोलिने गैरअंग्रेजी भाषामा नेपाली भाषा मुख्य पाँचौं स्थानमा परेको छ । अनुवाद तथा दोभाषे सेवा दिँदै आएको ल्याङ्ग्वेजलाइन नामक संस्थाले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको उक्त संस्थाको अध्ययन भन्छ, ‘अंग्रेजी र स्प्यानिश यहाँको मुख्य दुई भाषा हुन् । यसबाहेक यहाँ समुद्रको एकाछेउदेखि अर्को छेउसम्म ३५० भन्दा बढी भाषा बोलिन्छन् ।’

संस्थाका केही प्रतिनिधि शहरमध्ये कोलोराडोको डेनभरमा अंग्रेजी र स्प्यानिशपछि नेपाली भाषा पाँचौं र विस्कान्सनको म्याडिसनमा चौथो भाषाका रूपमा सूचीकृति छ ।

संस्थाले अगाडि भनेको छ, ‘अमेरिका बहुभाषाका लागि पृथक विशेषताको भूमि हो । यहाँ पाँचमध्ये एक व्यक्ति वा ६ करोड ७० लाख मानिस घरमा गैरअंग्रेजी भाषा बोल्छन् ।’

संस्थाले गएका १२ महिनामा भएका ४ करोड संवादलाई आधार मान्दै उक्त तथ्यांक निकालेको हो घरमा बोलिने भाषाको तथ्यांकमा दक्षिण एसियाली मुलुकको बंगाली भाषा समावेश छ । दोभाषे सेवा लिने संख्याका आधारमा यो तथ्यांक आएको हो ।