पवन भट्टराई

विगत केही बर्षदेखि नेपाली फिल्मका कलाकारहरुको बिहेमा मिडियालाई प्रवेश निधेष गरिएको छ । बिहेमा मिडियालाई प्रवेशका लागि अनुमति दिनुपर्छ भन्ने पनि छैन । तर, केही समययता बिहेमा मोबाइल नै प्रतिबन्ध गर्नेदेखि उपस्थिती पाहुनाहरुलाई वेडिङका लागि पैसा तिरेर जिम्मा दिइएका म्यानेजमेन्ट गर्ने व्यवहारले भने केही तितो महशुश हुन थालेको छ ।

शुक्रबार नायिका नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीले भव्य रुपमा बिहे गरे । तर, बिहेमा उपस्थित भएका केही सेलिब्रिटीहरु भने नमिठो अनुभव संगाल्दै फर्किए ।

एउटा कुरा के हो भने, बिहे भनेको सेलिब्रेशन हो । अझ, बिहेमा बोलाइएका पाहुनाहरु दुलाहा र दुहलीसँग सेलिब्रेशन गर्न चाहन्छन् । उक्त सेलिब्रेशनमा सहभागी हुन पुगेकाहरुलाई बेहुला–बेहुलीको छेउमा जान दिनै नहुनेदेखि शुभकामनाका लागि तस्वीर समेत खिच्न नपाउने कठोर प्रतिबन्धले बिहे भिडियो र फोटोका लागि मात्र गरिएको हो कि भन्ने भान हुन थालेको छ ।

नीता र हरिहरको बिहेको मण्डप वरिपरी बसेका पाहुनाहरुले बारम्बार फोटो र भिडियो लिनेहरुको तितो आग्रहलाई स्विकार गर्दै उठ्नुपर्यो । नीताका नजिकका एक जना पत्रकारलाई लाइट छेकियो भन्दै हटाइएको दृश्य नमिठो थियो । यस्तै, फोटो तथा भिडियोग्राफरहरु लाई म्यानेजमेन्ट गर्नेले बारम्बार बसिरहेका पाहुनाहरुलाई हटिदिनुपर्यो भन्दै बसिरहेको कुर्सीबाट हटाएका थिए । यसले, कुनै सेलिब्रिटीको बिहे भन्दा पनि फिल्मको छायांकनका लागि लोकेशन खाली गरेको जस्तो भान हुन्थ्यो ।

उसो त नीता र हरिहर यो कुराबाट बेखबर नै थिए । नीता र हरिहरसँग फोटो खिच्न स्टेजमा चढेका सेलिब्रिटीहरुलाई समेत उनीहरुको मोबाइलबाट फोटो खिच्न दिइएन । जसकाकारण, उनीहरुले बिहेको शुभकामना दिन अझै कति दिन आधिकारिक वेडिङ कम्पनीको फोटो पर्खिनुपर्नेछ ।

यसैले, सेलिब्रिटीहरु बिहे निक्कै कसिलो तरिकाले गरिएको भन्दै चाडै नै फर्किए । नीतालाई बिदाई गरेर फर्किने भन्दै आएका केही सेलिब्रिटीहरु यस्तै पावन्दीका कारण दुःख मान्दै चाडै फर्किए । पाहुनालाई बोलाइसकेपछि उनीहरुलाई मिठो सत्कार गर्न सक्नुपर्छ । होइन भने, बिहेमा आफ्नो नजिकको साथीभाईलाई शुभकामना दिन पुगेकाहरु तितो अनुभव बटुल्दै फर्किनेछन् ।

अपेक्षा गरौ, आगामी दिनमा बिहे गर्ने तयारीमा रहेका सेलिब्रिटीहरुले बिहेलाई उत्सवको रुपमा नै सेलिव्रेशन गर्नेछन् । बिहेलाई उत्सव भन्दा पनि क्यामेराका लागि गर्न थालियो भने त्यहाँ बिहेको रौनकता नै हराउनेछ ।

अनी, बिहेमा म्यानेजमेन्टको जिम्मा लिएका कम्पनीहरुले उपस्थिती पाहुनाको इज्जत र मर्यादाका ख्याल राखुन् । आफ्नो सहजताका लागि उपस्थित पाहुनालाई असर नगर्नेगरि फोटो र भिडियो लिन आवश्यक छ । न कि, उपस्थित पाहुनाको मर्यादा र इज्जत नै ख्याल नगरी कुनै फिल्मको सुटिङ गरे जस्तो गरेर फोटो लिदा त्यसले बिहेलाई उत्सव त बनाउदैन नै, जिम्मा लिने कम्पनीको कार्यक्षमतामाथि पनि प्रश्न उठ्छ