काठमाडौँ – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या गर्ने तेत्सुया यामागामीले रहस्यमय वयान दिएका छन् । हत्याको अनुसन्धान गरिरहेको प्रहरीसँग वयानमा तेत्सुयाले गम्भीर रहस्य खोलेका हुन् ।

जापानमा ‘विशेष संगठन’ रहेको बताउँदै आबे उक्त संगठनमा आबद्द भएकै कारण हत्या गरेको उनको भनाई छ । उनले उक्त संगठन विरुद्ध आफूले लामो समयदेखि गुनासो गरेको जनाएका छन् । उनले आफ्नो गुनासो नसुनेर उक्त समूहसँग आवद्ध भएकाले आबेमाथि आक्रमणको योजना बनाएको बताएका हुन् ।

उनको यो वयानले विश्वलाई स्तब्ध बनाएको छ । जापान अरु देशको तुलनामा शान्त मुलुकका रुपमा परिचित छ । त्यहाँ अपराधिक समूह लुकेर बसेको छ भन्ने सुन्दा विश्व स्तब्ध भएको छ । साथै, उक्त संगठनमा पूर्वप्रधानमन्त्री समेत सदस्य भएको विषयले झन ठूलो रहस्य बनेको छ ।

४१ वर्षीय आक्रमणकारी तेत्सुयाले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका छन् । तर, समूहको नाम बताइएको छैन ।

शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आफूले घरेलु बन्दुकले गोली हानेको आक्रमणकारीले स्वीकार गरेको प्रहरीले जनाएको छ । आबे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए ।