काठमाडौँका दीपक पाण्डे फेसबुकमा सामान्य चिनजान भएकी मनिषा परियारलाई भेट्न गत जेठ २४ गते कोटेश्वर पुगे। त्यसदिन सामान्य भेटघाट भयो। सँगै खाजा खाएर छुट्टिए। मनिषाले भनिन्, ‘भोलि म घर जान्छु, केही दिन अब हाम्रो भेट हुँदैन।’

तर, पर्सिपल्ट दीपकलाई फोन गरिन् र भनिन्, ‘म घर गइनँ, तपाईंलाई भेट्न चाबहिल आउँछु। ट्याक्सी भाडा तपाईंले तिरिदिनुपर्छ, अनि एउटा इयरफोन पनि किनिदिनुपर्छ।’

दीपक राजी भए। दिउँसो साढे ४ बजेतिर ओम हस्पिटल नजिकै उनीहरुको भेट भयो। दीपकले ट्याक्सी भाडा तिरे। नजिकै रहेको क्याफेमा खाजा खाए।

त्यसपछि मनिषाले टाउको दुख्यो, आराम गर्छु, कोठा खोज्नु न भनिन्। त्यसपछि दीपकले ओम अस्पताल नजिकै पूर्वेली गेस्टहाउसमा एउटा कोठा बुक गरे। दुई वटा बेड भएको कोठामा उनीहरु बसे।

केहीबेर छुट्टा छुट्टै बेडमा बसेर मोबाइल चलाए। पछि मनिषाको बेडमा पुगेर दीपकले टाउको मसाज गर्न थाले। करिब १५ मिनेट बसेर मनिषा गेस्ट हाउसबाट फर्किन्। उनीहरुको बीचमा शारीरिक सम्पर्क भने भएको थिएन।

त्यहाँबाट फर्किएर मनिषाले फोन गरिन् र अब ब-लात्कारको मुद्दा लगाउने चेतावनी दिइन्। आफ्ना साथीहरुलाई दीपकसँग गेस्टहाउसमा बसेको सुनाइन्। उनीहरुबीच अब दीपकबाट रकम असुल्ने योजना बन्छ। त्यसपछि सुरु हुन्छन् दीपकका तनावका दिन।

१५ वर्षको बच्चालाई होटलमा लगेर
मनिषाको दाइ हुँ भन्दै फोन गर्नेले भन्यो, ‘म पोखरामा छु, बहिनीलाई के गरेको, तँलाई ठिक पार्छु।’ एकछिनमा दीपकको मोबाइलमा सन्देश आउँछ, ‘ब-लात्कारी पख् भरखर १५ वर्षको बच्चालाई होटलमा लगेर ब-लात्कार गर्ने? अब १४÷१५ वर्ष जेल जाँदा थाहा हुन्छ।’

भोलिपल्ट पत्रकार हुँ भन्दै एक जना महिलाले फोन गर्छिन्। उनैले दीपकको घर आफूलाई थाहा भएको बताउँछिन्। मुद्दा मिलाउने भए बौद्धको नयाँ बस्तीमा आउन भन्छिन्। पत्रकार बताउने महिलाले बोलाएको ठाउँमा दीपक पुग्छन्।

नयाँ बस्तीको सडक छेउमा उनीहरुको भेट हुन्छ। त्यहाँ दीपकले गेस्टहाउसमा भेटेकी युवती, पत्रकार भन्दै फोन गर्ने अर्की युवती र गेस्टहाउसमा भेटेकी युवतीको मामा हुँ भन्ने अर्का पुरुष गरी तीन जनालाई दीपकले भेटे।