काठमाडौं, २१ असार :
टिकटकले चर्चामा आएकी सल्यानकी एमाले जिल्ला नेतृ टीका वलीले पत्रकार सम्मेलन गर्दै प्रष्टीकरण दिएकी छन् । पत्रकार सम्मेलनमा उनले प्रविधिको दुरुपयोग गर्दै आफ्नो चरीत्र हत्या गरेको बताएकी छन् । उनले कर्णाली प्रदेश सांसद गुलाबजंग शाहसँगको फेक भिडिओ बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गरिन् ।

वलीले उक्त टिकटक आफूले श्रीमान्‌सँग बनाएको तर कसैले एडिट गर्दै गुलाबजंगको टाउको जोडिदिएको भन्दै आफ्नो टिकटक अकाउन्ट समेत ह्याक भएको गुनासो गरिन् । पार्टीको आदरणीय नेतालाई जोडेर चरित्र हत्या गर्ने उद्देश्यका साथ भिडिओ सार्वजनिक गर्नु सरासर गलत भएको भन्दै उनले आफुहरुबीच कुनै नराम्रो सम्बन्ध नरहेको बताइन् ।

उनले उक्त भिडीयो भाइरल भइसकेपछि श्रीमान्‌सँग बनाएको पुरानो टिकटक खोज्दा समेत नभेटेको बताइन् । उनले पुरानो टिकटक सबै डिलिट गरिएको र आफुले बनाएका सबै टिकटक फेसबुकको स्टोरीमा हाल्ने गरेको भए पनि अहिले हेर्दा फेसबुकमा समेत नभेटीएको बताइन् ।
स्टोरीबाट हटेको टिकटक कसरी खोज्न सकिन्छ भनेर वलीले पत्रकारसँग सहयोग मागेकी थिइन् । आफ्नो राजनीतिक र पारिवारिक जीवन सिध्याउनका लागि षडयन्त्र रचिएको वलीले आरोप लगाइन् । मान्छे पत्ता लगाएर साइबर केस हाल्ने साथै अदालतमा समेत जाने उनको भनाइ छ । यद्यपि, आफूलाई कसैप्रति शंका नरहेको उनको भनाइ छ । भाइरल भएको भिडिओ हेरेर परिवार पनि अचम्ममा परेको उनले बताइन् ।

‘म आफ्नो तरिकाले परिवार चलाउँदै पढाइ अघि बढाउँदै आइरहेको थिएँ । राजनीतिमा भर्खरै आएको हुँ । तर, मेरो राजनीतिक र पारिवारिक जीवनमा दाग लगाउन खोजिएको छ । मलाई न्याय चाहिन्छ,’ वलीको थप भनाइ छ ।

भिडियोमा सांसद शाह मस्त निद्रामा देखिन्छन् भने टिकाले ‘मायाजाल बुन्छु म’ बोलको गीतमा एउटै ओछ्यानमा गाला जोडेर सुतेको उनिहरु गुलाबजंगको गाला सुम्सुम्याउदै एकल अभिनय गरेकाे देखिन्छ।