काठमाडौं, असार २२ –
भक्तपुरमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो साढे १ बजे मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कर्यालय अगाडि दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए।

काठमाडौं आउँदै गरेका बा ४ ख २२१२ नम्बरको बस र बा. ७८ प. १०८३ नम्बरको स्कुटर ठोक्किएका थिए। दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका थिए। उनीहरूको उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा लगिएको थियो।

स्कुटर चालक रामेछाप दोरम्बा गाउँपालिका-५ घर भई जडिबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगर घाइते छन्। स्कुटर पछाडि सवार बर्गर हाउसमा काम गर्ने २४ वर्षीया रेजिना तामाङको उपचारको क्रममा मृत्यु भएको हो। मगरको अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरी अधिकृतसहितको टोली खटिएको थियो। बसका चालक काभ्रे तिमाल गाउँपालिका-५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।