काठमाडौँ —चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस छोप्राकको राम्चेचौतारा नजिकै दुर्घटनामा परेको छ । आज दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन् । ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा पल्टेको थियो ।

प्रहरीका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि चितवन लगिएको छ । बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनामा परेर सामान्य घाइते भएका यात्रु पवन पोखरेलले घुम्तीबाट बस पछाडि हटेर सडकमा पल्टिएको बताए । उकालो र घुम्ती रहेको सडकबाट बस करिब ३० मिटर तल हटेको थियो ।