संखुवासभाको मादी नगरपालिकामा ६ जनाको हत्या गरेको घटनामा ४ प्रतिवादीहरूलाई आजीवन कैदको सजाय सुनाइएको छ। सोमबार जिल्ला अदालत चैनपुर संखुवासभाले चार जनालाई आजीवन कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।

४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र २६ वर्षीय लोकबहादुर कार्कीलाई आजीवन कैद सजाय सुनाइएको हो। एक जना १७ वर्षीय नाबालिगको हकमा भने अदालतले २५ वर्ष सजायको दुई तिहाइ कैद हुनेगरी सजाय सुनाएको छ।

यस्तै, उनीहरूलाई दुई-दुई लाख क्षतिपूर्ति तिराउन समेत अदालतले आदेश दिएको छ। गत वर्ष भदौ २१ गते बिहान सवा ५ बजे मादी नगरपालिका-१ खोलागाउँका ९० वर्षीय बौद्धबहादुर कार्कीकी श्रीमती ८४ वर्षीया पार्वता भन्ने पार्वतीसहित ६ जनाको हत्या भएको थियो।

५५ वर्षीय छोरा तेजकुमार, उनकी ५४ वर्षीया श्रीमती कमला भन्ने मनमाया, नातिनी बुहारी ३२ वर्षीया रंजना, पनाती ८ वर्षीय भन्ने दिपेन कार्की र पनातिनी ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो। उनीहरूको टाउको तथा शरीरको विभिन्न भागमा दाउराका चिर्पट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।

यस घटनाको अनुसन्धान गर्न प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली घटनास्थल पुगेको थियो।

अनुसन्धानको क्रममा सुरूमा लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गर्दै जानेक्रममा र प्रमाणको आधारमा प्रहरीले अरूलाई पनि पक्राउ गरेको हो। प्रहरीले सुरूमा यस घटनामा लोकबहादुरलाई नै मुख्य प्रतिवादी भनेर सार्वजनिक गरेको थियो। घटनाबारे गाउँलेलाई खबर पनि उनैले गरेका थिए।

लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर कार्कीलगायत परिवारको हत्या भएको खुलेको थियो। प्रहरीले सुरूमा लोकबहादुर एक्लैले बडाबा ५५ वर्षीय तेजबहादुर कार्कीसहित छ जनाको हत्या गरेको बताएको थियो। हत्याकाण्डको सामूहिक संलग्नताको पोल भने बुहारी रञ्जनाको मोबाइलबाट खुलेको थियो।

कार्कीको घरमा अघिल्लो दिन राति नै हत्याको योजना बुनिएको थियो। ‘राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र उनका भाइ बसेर योजना बनाएको अनुसन्धानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले भनेका थिए।

भोलिपल्ट तेजबहादुर लोकबहादुरको घरमा खेताला बोलाउन जाँदा मौका छोपेर हत्या गर्ने योजना बनाइएको थियो। घरपरिवारका अन्य सदस्यले थाहा पाए उनीहरूको पनि हत्या गर्ने योजना बनाइएको दाहालले बताए। ‘यसरी हत्या गर्दा अनुकूल भए तेजबहादुरको घरमा भएको धनमालसमेत लैजाने योजना उनीहरूको थियो भन्ने खुलेको छ,’ दाहालले भनेका थिए।

तेजबहादुरको घरमा धनमाल सुरक्षित भेटिएको थियो। हत्यापछि संलग्नले ठूलो धनराशी तत्काल नभेटेका कारण लुट्न नभ्याएको प्रहरीको भनाइ थियो। प्रहरीले हत्याकाण्डमा अन्य व्यक्तिको संलग्नतामा मोबाइल, उनीहरूको साबिती बयान र हत्याका बखत लगाइएको लुगा कपडालाई आधार मानेको दाहालले बताए। भदौ २१ गते बिहान तेजबहादुरको पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र उनका भाइ खेताला जाने पहिले नै तय भइसकेको थियो।

हत्याको योजनाअनुसार खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा पुगेका थिए। उनले त्यहाँ पुगेर तेजबहादुरलाई भने- लोकबहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नू। त्यसपछि तेजबहादुर लोकबहादुरको घर हिँडेका थिए। हिँडेपछि उनलाई आक्रमण गर्ने पूर्वयोजना थियो।