नयाँ पासपोर्ट बनाउन आवेदन दिएकाको लागि विभागले निकाल्यो यस्तो सूचना

काठमाडौं: राहदानी विभागले आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र राहदानी लिन आउन सेवाग्राहीलाई आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै अनलाइनबाट आवेदन दिँदा नै विभागमा उपस्थित हुने मिति र समय तय हुने भएकाले सो समयमा मात्रै आउन भनेको हो ।

सेवाग्राही बिहानैदेखि विभागमा आउँदा धेरै भिड बढेको भन्दै आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र उपस्थित हुन उसले अनुरोध गरेको हो ।

विभागले अत्यावश्यक बाहेकका अवस्थामा राहदानी बनाउन काठमाडौं नआउनसमेत सेवाग्राहीलाई आग्रह गरेको छ ।

लाइभ इनरोलमेन्ट हुने र जिल्ला प्रशासन कार्यालयहरूबाट आवेदन भएका राहदानी नजिकको जिल्लाहरूमा एक हप्तामै प्रिन्ट गरी पठाउने व्यवस्था समेत गरिएको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले एक हप्ता भित्रमा र अन्य जिल्लाको हकमा दश देखि पन्ध्र दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागले जनाएको छ । विभागले हाल दैनिक पाँच हजारभन्दा बढी सेवाग्राहीहरूलाई सेवा दिइरहेको छ ।