१६ असार, काठमाडौं।

आफ्नो फेन्सीमा काममा लगाएकै दिन किशोरीमाथि बलात्कार प्रयासको आरोपमा शिला फेन्सी स्टोर्स, चिप्लेढुंगाका सञ्चालक छविलाल गौतम पक्राउ परेका छन् । पीडित किशोरीको परिवारको उजुरीपछि कास्की प्रहरीले गौतमलाई बुधबार बिहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले गौतम पक्राउ परेको पुष्टि गरे । बालिकामाथि यौनजन्य दुर्व्यवहार मुद्धामा गौतममाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए । आमाबाट किटानी जाहेरी प्राप्त भएको तिवारीले जनाए । किशोरीमाथि जबर्जस्ती प्रयास भएपछि परिवारलाई थाहा हुने वित्तिकै प्रहरीकहाँ परिवार पुगेकाे हाे । किशोरीको बुधबार साँझ नै स्वास्थ्य परिक्षण गरिएको छ ।

घटना विवरण अनुसार स्याङ्जा घर भई पोखराको रानीपौवामा परिवारसँग बस्दै आएकी ति किशोरी कामको खोजीमा थिइन् । भर्खरी १६ वर्ष टेक्न लागेकी उनी परिवारको आयश्रोतमा सहयोग हुने हेतुले अब काम गर्ने मनसायमा थिइन् । फेन्सीमै काम गर्ने दाइ नाता पर्नेले कामको खोजीमा सघाए ।

चिप्लेढुंगाको एक पसलमा कामदारको खोजी भएको थाहा भएपछि उनी त्यो पसलमा पुगिन् । तर, त्यहाँ काम नमिलेपछि सोहि पसलका सञ्चालकले नजिकैको शिला फेन्सी स्टोर्स देखाइदिए । दुई दिन अघि त्यहाँ पुगेर काम गर्ने चाहना व्यक्त गरिन् । सञ्चालक छविलाल गौतमले बुधबारदेखि काम सुरु गर्न भने । उनलाई बिहान ८ बजेदेखि बेलुकी साढे ७ बजेसम्म काम गर्नुपर्ने भनिएको थियो । पराजुलीमार्ग स्थित गाैतमकाे फेन्सीमा दर्जनौ कर्मचारी कार्यरत छन् ।

काम पाएको खुशीयालीमा पहिलो दिन बुधबार बिहानै ८ बज्नु अघि नै पसल पुगिन् । सञ्चालक छवि पसलमै थिए । सबै काम सिक्नुपर्छ भनेर पसलबारे जानकारी दिन थाले । काम सिकाउने भन्दै माथिल्लो तल्ला लगे । हात समातेर अंगालो हाल्दै अघि बढे । किशोरी आत्तिइन् । भर्याङ चढिरहँदा अधेँरो स्थान पुगेपछि एक्कासी मुखमा चुम्बन गर्दै गोप्य अंगतिर हात बढाउन थालेपछि उनले उम्कने प्रयास गरिन् । यस्तो कुरा नर्मल हो भन्दै गौतमले झनै अंगालोमा कस्न थाले । त्यसपछि, म काम गर्दिनँ भन्दै रुँदै डेरातिर लागिन् ।

घरमा पुगेपछि दिदी र आमालाई सबै कुरा सुनाईन् । मामा माईजुको रायपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा कानुनी उपचार खोज्दै परिवार पुगे । र, किटानी जाहेरी दिए । बिहान साढे आठ बजेतिर घटना भएकोमा किशोरीको आत्मविश्वास र आँटिलो कदमले २ घण्टामै पीडक प्रहरी फन्दामा परे ।

किशोरीका मामाले भाञ्जी भाग्यवश नर्कबाट उम्कन सफल भएपनि अन्य छोरीचेलीहरु सुरक्षित होउन् भनेर कानुनी उपचार खोज्न अघि बढेको बताए ।

(बालिकाको उपस्थितिमा परिवारले दिएको घटना विवरण अनुसार ।)