लोक गायिका दिलमाया सुनारको रहस्यमय मृत्यु प्रकरणमा जोडिएका सूर्य श्रेष्ठले आफूले हत्या नगरेको बयान दिएका छन्। शनिबार बिहान ११ बजे नेपालटारस्थित कोठामै दिलमाया रहस्यमय अवस्थामा मृत भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका उनले सुरूदेखि नै दिलमायाको हत्या नगरेको बयान दिइरहेका छन्। सूर्यले दिलमायाले पासोका रुपमा प्रयोग गरेको सल आफूले चक्रपथस्थित सडकको नालीमा फ्याँकिदिएको बताएका थिए।

उनकै सूचनाअनुसार त्यहाँ पुगेको उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले दिलमायाले पासो लगाउन प्रयोग गरेको भनिएको सल बरामद गरेको छ।

सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य श्रेष्ठ भन्ने खिलबहादुर श्रेष्ठ र सुर्खेतकी लोक गायिका दिलमायाबीच निकट सम्बन्ध रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार सूर्य चार सन्तानका बाबु हुन्न भने गायिका दिलमाया एक छोराकी आमा हुन्। उनी पतिसँग डिभोर्स गरेर नेपालटारमा एक्लै बस्दै आएकी थिइन्।

प्रहरीसँगको बयानमा शुक्रबार राति दिलमायाकै कोठामा दुवैजनाले लोकल रक्सी पिएका थिए। ‘हामी दुवैले शुक्रबार राति दिलमायाकै कोठामा राति लोकल रक्सी पिएर अबेरसम्म बस्यौँ’, उनले बयानमा भनेका छन्, ‘त्यसपछि हामी दुवैजना त्यही कोठामा सुतेका हौँ। तर बिहान ब्यूँझिएर हेर्दा दिलमाया सुतेकै ओछयानमाथि झुन्डिरहेको देखेँ।’

उठ्दा झुन्डिराखेको देखेपछि दिलमायाले लगाएको पासो आफैंले खोलेको पनि उनले बयानमा भनेका छन्। ‘झुन्डिएको देखेपछि त्यतिखेरै दिलमायाको घाँटीको पासो हतार हतार खोलेँ’, उनले बयानमा भनेका छन्, ‘तर सल खुस्काएर हेर्दा उनको शरीर चिसो भइसकेको थियो, सायद निकै अगाडि निधन भइसकेको रहेछ।’

आफैंसँग रक्सी पिएर सुतेकी दिलमायाको मृत शरीर छाडेर उनी त्यहाँबाट भागेका थिए। ‘त्यो देखेपछि मलाई बहुतै डर लाग्यो। अनि मैले सल लगेर सडकको नालीमा फ्याँकिदिएर हिँडे’, उनले बयानमा अगाडि भनेका छन्, ‘मलाई डर लाग्यो। अरुले थाहा पाउँछन् भनेर भागेको हुँ। सल पनि डरले फ्याँकिदिएको थिएँ।’