१२ असार, काठमाडौं ।

राजधानीका चन्द्रागिरीको जंगलबाट तीन जना विदेशी नागरिकको उद्दार भएको छ । घुम्नका लागि पुगेका विदेशी नागरिकहरु बाटो भुलेर जंगलमा फसेका थिए ।

थानकोटबाट करिब ७ किलोमिटर माथि जङ्गलस्थित थानकोट–चित्लाङ सडकखण्डको १०० मिटर तल भिरमा फसेको अवस्थामा प्रहरी प्रभाव थानकोटको टोलीले उनीहरुलाई फेला पारेको हो । सानेपास्थित प्रहरी प्रभागमा यसबारे सूचना आएपछि प्रहरी बृत्त थानकोटबाट तत्कालै प्रहरी उद्दारकर्मीहरु परिचालन गरिएको थियो ।

शनिबार साँझ आएको सो खबरपछि आवश्यक टर्च, डोरी, स्ट्रेचर लगायतका सामाग्रीसहित १० जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता उमेशराज मैनालीले जानकारी दिए ।

उनीहरुलाई रेस्क्यु रोपलगायतको प्रयोग गरी सुरक्षित साथ उद्दार गरी रातिनै साथीहरुको जिम्मा लगाइएको उनले बताए । उद्धार भएकाहरुमा अमेरकी नागरिक डग्लस रो तथा भारतीय नागरिक नवप्रित डिलोन र माधव गुप्ता रहेका छन् ।

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

प्रहरीले काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित खाजा घरबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्राप्त सूचनाअनुसार खानतलासी गर्दा कटुवा पेस्तोल, सोको एक थान गोली र एक थाल खोका बरामद भएको प्रहरीको भनाइ छ ।

प्रहरी प्रभाग गोंगवु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१७, धोबीचौर घर भई काठमाडौं महानगरपालिका–१५ वनस्थली बस्ने ४२ वर्षीय जोयल थापा र नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१४ चौपत्ता बस्ने ३० वर्षका राजु विकलाई उक्त हतियार र गोलीसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।